• ६ कात्तिक २०८२, बिहिबार

'लोमान्थाङ दरबार'को सेरोफेरो

blog

मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय लोमान्थाङ दरबार । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ६ गते । विश्वसम्पदा सूचीमा सूचिकृत हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल हो, लोमान्थाङ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागु गर्दा मुस्ताङमा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो । लोमान्थाङको सिमाना पूर्व, पश्चिम र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लाकेघर दामोदरकुण्ड पर्दछ । 

सात सय २७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लामोन्थाङ ५ वडामा विभाजित छ । यहाँको कूल जनसङ्ख्या १ हजार ८ सय ९९ रहेको छ । कुनै समय फरक विश्व जस्तो लाग्ने उपल्लो मुस्ताङको ‘लोमान्थाङ’ सडक सञ्जालसँग जोडिएपछि सुगम बनेको छ । उपल्लो मुस्ताङका पठार क्षेत्रमा सडक विस्तार भएपछि देशकै प्रसिद्व मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किने धर्मालम्बीहरू तथा पर्यटकहरू पछिल्लो समय लोमान्थाङ हुँदै नेपाल-चीन सिमानाका ‘कोरला’ सम्म पुग्ने गर्छन् ।

ऐतिहासिक लोमान्थाङ दरबार करिब ७ सय वर्ष पुरानो मानिन्छ । सो दरबार १४ औं शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो विष्टको कार्यकालमा बनेको मानिन्छ । लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो । लोमान्थाङ दरबार करिब दुई रोपनी ५ आना क्षेत्रफलमा फैलिएको र १ सय ८ कोेठे तथा ५ तले रहेको छ । लोमान्थाङ दरबारको पर्खालमा पाँच कुना र बिचबिचमा नौ मिटरका अग्ला बुर्जा छन् । दरबारको पूर्वतिर एउटा मात्र प्रवेश गेट छ ।

तत्कालीन समयमा राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न दरबारमा ९ मिटर अग्लो र ५ सय ६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । ऐतिहासिक र पुरातात्विक महत्त्वको लोमान्थाङ दरबार अहिले संरक्षणको पर्खाइमा छ । संरक्षण र संवद्र्धनको अभावमा दरबारको महत्त्व घट्दै जानेमा स्थानीय चिन्तित छन् । लोमान्थाङका अध्यक्ष टसीन्हर्वु गुरुङ इतिहास र धर्ममा रुचि राख्नेहरूका लागि लोमान्थाङ क्षेत्र निकै महत्त्वपूर्ण गन्तव्य भएको बताउनुहुन्छ ।