• १४ वैशाख २०८१, शुक्रबार

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, जेठ ५ गते । सरकारले नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन एवम् पुस्तान्तरण गरी जीवन्तता दिने भएको छ । 

शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्दै ऐतिहासिक पुरातात्त्विक स्थलहरूको अन्वेषण, उत्खनन् र संरक्षण कार्यलाई निरन्तरता दिइने बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्त्वका सबै प्रकारका अभिलेखहरूको आधुनिक प्रविधिबाट संरक्षण गरिने उल्लेख छ । 

गोरखा जिल्लाको उपयुक्त स्थानलाई नेपालका सम्पूर्ण जातजातिको संस्कृति र पहिचान झल्कने गरी जीवन्त सङ्ग्रहालयको रूपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने, धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई सुन्दर र आकर्षक बनाउन 'हाम्रो सम्पदा, राम्रो सम्पदा' कार्यक्रम सञ्चालनमा ल्याइने, धार्मिक-सांस्कृतिक परिपथको विकास गरी पर्यटन सञ्जाल विस्तार गरिने, राष्ट्रिय मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन का साथै स्रष्टाहरूको वृत्तिविकास र अनुसन्धानका निम्ति स्रष्टावृत्ति, अनुसन्धानवृत्ति जस्ता कार्यक्रम लागु गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

साथै, पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने, सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार गरिने, अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यहरूको विस्तारमा जोड दिइने, सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिने, एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने, प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाई विश्व पर्यटन बजारमा सबैका लागि सँधैका लागि आकर्षक गन्तव्यको रूपमा नेपालको ब्राण्डिङ गरिने तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।