• ३ साउन २०८१, बिहिबार

फिल्मलाई विदेश जाने भिसा नबनाऔं : प्रकाश सायमी

blog

काठमाडौं, जेठ ६ गते । प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुनुहुन्छ । उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ । सायमी नयाँ फिल्मको स्क्रिप्ट लेखनसँगसँगै र आफ्ना पुराना रचनाको सङ्ग्रह किताब निकाल्ने तयारीमा हुनुहुन्छ । चलचित्रका विभिन्न पाटोमा काम गर्ने कला भए पनि विशेषगरी आफूलाई फिल्मकारको रुपमा चिनाउन चाहनुहुने निर्देशक सायमीलाई कामको मूल्याङ्कनको हिसाबले दर्शकले ने अनेकौं उपनाम दिने गरेको उहाँ बताउनुहुन्छ । 

२०४२ सालबाट फिल्म क्षेत्रमा काम सुरु गर्नुभएका निर्देशक सायमीले वलिउडमा सहायक निर्देशकको रुपमा काम सुरु गर्नुभएको हो । उहाँले नेपालमा भने २०४९ सालमा फिल्म ‘पृथ्वी’बाट निर्देशनको यात्रा सुरु गर्नुभएको हो । नेपाली फिल्म ‘साइनो’, ‘सपना’ मा उहाँले सहायक निर्देशक बनेर काम गर्नुभयो । यसबाहेक सायमी हाल वृत्तचित्र निर्माणमासमेत व्यस्त हुनुहुन्छ । उहाँले ‘नयाँ बिहानी’, ‘नुनचिनी पानी’ लगायत वृत्तचित्रमा काम गर्नुभएको छ ।


कला क्षेत्रलाई पेशागत रुपमा सुरक्षित बनाउनुपर्छ

कला क्षेत्रलाई व्यवसायिक रुपमा सफल बनाउनुपर्ने उहाँको भनाइ छ । यो क्षेत्रमा काम गरेर योगदान गर्नुपर्ने सायमीको अनुभव छ । 

“त्यो बेलाको समयमा फिल्ममा काम गरेर जीवनयापन गर्न सकिन्छ कि सकिँदैन भन्ने भ्रम थियो । त्यो बेला हामीसँग एक जना मात्रै हिरो हुनुहुन्थ्यो, उहाँ हो शिव श्रेष्ठ । उहाँकै जीवन पेशागत रुपमा सुरक्षित छैन, तिमीहरुको हुन्छ त भनेर अग्रजहरुले हामीलाई प्रश्न गर्नुहुन्थ्यो”, पुराना दिनहरु सम्झिँदै सायमी भन्नुहुन्छ, “तर आज पुराना दुःख सम्झिँदा रमाइलो लाग्छ । हामीले केही पाउन वा गुमाउन भन्दा पनि केही दिनका लागि काम गरेका थियौं र केही दियौं जस्तो पनि लाग्छ ।” 

“सुरुवातमा प्रयोग नयाँ र नौलो हुनसक्छ तर त्यसले पछि कालान्तरसम्म फाइदा गर्छ ।”

उहाँका अनुसार नेपाली सिनेमा सुरु हुनुभन्दा ५० वर्षअघि नै वलिउडले आफ्नो स्थान बनाइसकेको थियो । “वलिउडबाट मैले धेरै सिकेँ । मैले त्यहाँ उर्दु सिकेँ। मैले वलिउडमै बसेर काम गरेको भए म वलिउडको भीडमा हराउँथेँ। तर नेपालमा आएर काम गरेर इतिहास बनाउँछु भन्ने महसुस हुन्थ्यो,” उहाँले भन्नुभयो ।

सानैदेखि नयाँ कामको थालनी र प्रयोग गर्न रुचाउने निर्देशक सायमीले नाटक लेख्नेलाई नाटककार नभनी ‘अक्षर जननी’ लेख्ने चलनको सुरुवात गर्नुभयो । यसरी उहाँले फिल्ममा पनि नेपाली फिल्मको नामको तलपट्टि अङ्ग्रेजीमा सवटाइटल लेख्ने परम्पराको सुरुवात गर्नुभयो । त्यतिबेला धेरै जनाले उहाँलाई हाँसोको पात्र बनाउँथे । तर पछि सबै जनाले त्यही थालनी गरे । यसरी आफूलाई फिल्म क्षेत्रमा सफल भएको फिल्मकार सायमी  बताउनुहुन्छ ।


सायमीको 'डाइलग' लेख्ने कला

नेपाली कलाकारले आफ्नो देशका लागि योगदान गर्नु राम्रो भएको सायमीको भनाइ छ । नेपाली प्रतिभा बाहिर जानु राम्रो हो तर वलिउडमै हराउनु वा रमाउँदा यसको महत्तव हराउने उहाँको अनुभव छ । “कालिदासको एउटा भनाइ नै छ, प्रतिभा त्यही मात्रै फस्टाउँछ जहाँ उसलाई माटोले प्रेरणा दिन्छ । हामी यही जन्मेको यही काम गरेको भए हामीलाई यहाँको माटोले नै प्रेरणा दिन्छ,” उहाँले भन्नुभयो ।  

सायमीमा ‘अन द स्पट’ डाइलग लेख्नसक्ने अलग क्षमता छ । “मलाई दुई किसिमका डाइलग लेख्न सजिलो लाग्छ । जस्तै, फिल्म साइनोमा पनि मैले सहायक निर्देशकको रुपमा काम गरेको थिएँ। लेखिएको डाइलगलाई मैले फिल्डमै परिवर्तन गरेँ। जस्तै, फेरि आयो त्यो कालो रात भन्ने गीतअघिको डाइलग छ”, उहाँ भन्नुहुन्छ, “विशेषगरी कलाकारलाई साहित्यकारले लेखेको जस्तो डाइलग बोल्न आउँदैन । कलाकार हेरेर म डाइलग लेख्छु । कसलाई कुन डाइलग सुहाउँछ त्यसरी डाइलग लेख्ने हो । मैले नेपाली रङ्गमञ्चमा काम गरेँ, मेरा अग्रज गुरुहरुको प्रेरणा र नेपालका महान साहित्यकारहरु जस्तै बालकृष्ण सम, विजय मल्लको नाटकको शैली पढेर सिकेँ ।” 

फिल्ममा कथाको कला

सायमीका अनुसार पुराना चलचित्र सार्थक थिए । सार्थक अर्थात् उद्देश्यमूलक तर अहिलेका चलचित्र अर्थ कमाउने मात्रै । अचेल यस क्षेत्रमा चलचित्रले कति कमायो, कति दिन चल्यो भन्ने चर्चा मात्रै हुन्छ । यसको भविष्य छैन । 

सायमी थप्नुहुन्छ, “पहिले जस्तो फिल्म बनाउन अहिले गाह्रो छैन तर अहिले फिल्म बनाउन पहिले जस्तो सजिलो पनि छैन । पहिले कलाकार कथाको चरित्रमा डुब्ने गर्थे तर अहिले त्यस्तो छैन । आजका कलाकारलाई मानसिक रुपमा तयार गर्न धेरै गाह्रो छ ।” 


फिल्मकार सायमीका अनुसार सिनेमा साहित्यसँग टाढा हुने हो भने आत्महीन हुन्छ । सिनेमालाई साहित्यसँग जोडिराख्नुपर्छ । नेपालको साहित्य बलियो छ, साहित्यमा आज पनि कयौं फिल्म बन्न बाँकी भएको सायमी बताउनुहुन्छ । 

पुराना फिल्मले मौलिकता झल्काउँछ

कला क्षेत्रमा आउन चाहने नयाँ पुस्ताले चेतना लिएर र इमान्दार हुनुपर्ने सायमीको अनुभव छ । 

“यस क्षेत्रलाई आफूले विवाह गर्न र रमाइलोको माध्यमको रुपमा लिनु हुँदैन । फिल्मलाई विदेश जाने भिसा नबनाऔं, सायमी भन्नुहुन्छ, “पुराना कलाकारलाई सम्मान गर्नुपर्छ किनभने उहाँहरुले कला साहित्य र संस्कृति जोगाउन धेरै लगानी गर्नुभएको छ ।”

यस्तै, पुराना कलाकारसँग नयाँ कलाकार मिसियो भने मात्रै ‘फ्युजन’ बन्छ । ‘हाम्रा अग्रजले दु:ख गरेर बनाएको फिल्म नराम्रो भएर नयाँ फिल्म बनाएको भन्ने गलत धारणा छ । 

पहिले बनेको फिल्ममा नेपाली मौलिकता झल्किन्छ । फिल्म आफैमा वृत्तचित्र हो जसले पुराना सम्पदालाई बचाएर राख्ने काम गर्दछ,” फिल्मकार सायमीले भन्नुभयो । फिल्मकार प्रकाश सायमीसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :