अमरराज नहर्की
तनहुँ, मङ्सिर ११ गते। तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुन लागिएको आधुनिक शैक्षिक भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीले बिहीबार शिलान्यास गर्नुभयो। क्याम्पसको भौतिक पूर्वाधार विस्तारका लागि निर्माण गरिन लागेको भवनको लागत करिब १ करोड २८ लाख रहेको छ।
शिलान्यास कार्यक्रममा अध्यक्ष प्राडा. अधिकारीले क्याम्पसको गुणस्तरीय शिक्षाको आधार भौतिक पूर्वाधार नै भएकाले समयमै, पारदर्शी र गुणस्तरीय ढङ्गमा काम सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभयो। अधिकारीले भन्नुभयो, “शिक्षण–अध्ययनको प्रभावकारिता बढाउन आवश्यक पूर्वाधार विस्तार अपरिहार्य छ।”
समुदायसँगको सहकार्यमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले क्याम्पसलाई आधुनिक, प्रतिस्पर्धी र अनुसन्धानमैत्री शिक्षण संस्थामा रूपान्तरण गर्ने दीर्घकालीन योजनाअन्तर्गत यो भवन महत्त्वपूर्ण उपलब्धि बन्ने बताउनुभयो।
क्याम्पस प्रमुख महाप्रसाद हड्खेका अनुसार भवन निर्माणमा विश्वविद्यालय अनुदान आयोगको ६६ प्रतिशत बाँकी क्याम्पसको लगानी रहने छ।
भवन चार तले २४ कोठाको हुने छ। आगामी वर्ष देखि होटल म्यानेजमेन्ट विषय क्याम्पसले थप गर्न लागेकोले भवन निर्माणले सहज हुने हड्खलेले बताउनुभयो।
भवन निर्माणको ठेक्का फुलजोरे–अमर–तारा–जेभी, काठमाडौँले पाएको छ। क्याम्पसका अनुसार परियोजना चैत्र ३० भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।