• ११ मंसिर २०८२, बिहिबार

निर्माणाधीन क्याम्पस भवन अन्तिम चरणमा

blog

महेन्द्र बहुमुखी क्याम्पस दाङको नवनिर्मित भवन । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, मंसिर ११ गते । महेन्द्र बहुमुखी क्याम्पस दाङको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साबिक राप्तीको जेठो क्याम्पसका रूपमा परिचित यो क्याम्पस हाल सुविधासम्पन्न चार तले भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

नवनिर्मित भवनमा ३६ कोठा रहेको क्याम्पसका लेखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५–७६ मा सुरु भएको यो भवन निर्माण कार्य पाँच वर्षे योजनाअन्तर्गत अघि बढाइएको छ। तेस्रो तल्लासम्मको काम पूरा भई सञ्चालनमा आइसकेको र चौथो तल्लाको पनि  करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको अधिकारीले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विकास बजेटमार्फत करिब १० करोड रूपियाँको लागत अनुमानमा निर्माण भइरहेको भवन आगामी आर्थिक वर्ष २०८२–८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । सन् २०२६ सालमा स्थापना भएको महेन्द्र बहुमुखी क्याम्पसमा हाल करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । 

क्याम्पसका प्रशासन प्रमुख मनमन्तर शाहका अनुसार स्नातक तहमा व्यवस्थापन, शिक्षा, विज्ञान र मानविकी संकायमा पठनपाठन भइरहेको छ । त्यस्तै स्नातकोत्तर तहमा राजनीतिशास्त्र, नेपाली र अंग्रेजी विषय अध्यापन भइरहेको शाहले जानकारी दिनुभयो । क्याम्पसमा स्थायी र अस्थायी गरी ७६ जना शिक्षक तथा २५ जना कर्मचारी कार्यरत छन् ।