• २४ वैशाख २०८१, सोमबार

गीतकार बलबहादुर परियारको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल

blog

काठमाडौं, वैशाख २८ गते । गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोग गर्न अपिल गरेकाे छ । 

ओखलढुङ्गामा जन्मनु भएका परियारको मलद्वारको क्यान्सरको उपचार गर्न उहाँकी श्रीमती विना परियारले आर्थिक सहयोगको अपिल गर्नुभएको हो । विनाका अनुसार बलबहादुरकाे भारतकाे राजीव गान्धी अस्पतालमा एक महिनादेखि मलद्वार क्यान्सरको उपचार चलिरहेकाे छ ।   

जटिल खालको क्यान्सर भएकाले यसको उपचार खर्च जुटाउन गाह्रो भएको विना बताउनुहुन्छ । आफ्नो घर खेत बेच्दा पनि उपचार गर्न नपुग्ने भएपछि आर्थिक सहयोग गर्न अपिल गर्नुपरेको विनाको तर्क छ । 

उपचार खर्च महँगो भएकाले उपचार गर्दा गर्दै उपचार खर्च जुटाउन गाह्रो भएकाले आफन्तसँग पैसा सापटी गरेर उपचार खर्च जुटाउन बाध्य भएको विनाको भनाइ छ। 

“उहाँ निकै दयालु स्वभावका हुनुन्थ्यो । घर खर्च गर्न राखेको पैसा पनि अरूलाई दुःख पर्दा हामीले भोलि खाउँला भनेर सहयोग गर्ने बानी थियाे । त्यस्तो मान्छेलाई पनि यस्तो घातक रोग लाग्दो रहेछ । अहिले आफैँलाई उपचार गर्ने पैसा छैन ।”

श्रीमानको हेरचारमा भतिजाला छोडेर आफू पैसाको जोहो गर्न नेपाल आएको बिनाको भनाइ छ । 

आर्थिक सहयोग गर्ने इच्छुक महानुभावले बलबहादुर परियार, ओखलढुङ्गा एभ्रेष्ट बैंककाे खाता नं. ००१००५१६२०३२४२ मा सहयोग गर्न बिनाले आग्रह गर्नुभयो । 

पायल्सको उपचार गर्दा एक वर्ष बित्यो  

एक वर्ष अगाडि दिसा बस्न गाह्रो हुने, दिसामा रगत देखिने , छटपटी हुने जस्ता समस्या देखिएपछि उहाँ आयुर्वेदिक अस्पतालमा जानुभयो । चिकित्सकले पायल्स शङ्का गर्दै पायल्सको औषधि दिएर पठाएर । उहाँहरूले पनि चिकित्सकको सल्लाह अनुसार औषधि खानुभयो । समस्या घट्दै जानुको सट्टा समस्या झन् झन् बढ्दै गएपछि उहाँहरू काठमाडौँ उपत्यका विभिन्न अस्पतालमा उपचारको लागि धाउनुभयो ।

जुन अस्पतालमा गएपछि चिकित्सकले  पायल्स नै भएको भन्दै औषधि दिएर पठाएको विनाले जानकारी दिनुभयो । तर पनि परियारको समस्या घट्नुको साटो बढ्दै गयो । 

दिसामा कहिलेकाहीँ देखिने रगत दैनिक जस्तो देखिन थाल्यो । त्यसका अलावा वान्ता हुने, दिसा बस्दा दुखाई पनि बढ्दै गयो, छठपट्टि जस्ता लक्षण बढ्न थालेपछि पुन चिकित्सकलाई देखाउँदा क्यान्सरका आशङ्का गर्दै उक्त चिकित्सकले भक्तपुर क्यान्सर अस्पतालमा जान सिफारिस गरे ।

भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा मलद्वार को तेस्रो स्टेजको क्यान्सर पुष्टि भएको बिना बताउनुहुन्छ । 

विभिन्न अस्पतालमा बसेर पायल्सको उपचार खर्च तीन लाखभन्दा बढी पैसा खर्च भएको छ । उहाँलाई मलद्वारमा ट्युमर पलाएपछि भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा क्यान्सर पुष्टि भएको श्रीमती विनाले जानकारी दिनुभयो । 

विनाका अनुसार उहाँलाई तेस्रो स्टेजको मलद्वारको क्यान्सर पुष्टि भएपछि चिकित्सकले जटिल खालको क्यान्सर भएकाले चिकित्सकले अन्य अस्पतालमा सिफारिस गरेको हो ।  उहाँ भन्नुहुन्छ, “उहाँको क्रमबद्ध रूपमा उपचार चलिरहेको छ । रेडियो थेरापी दिइरहेको छ । अहिले किमो थेरापी १४- १४ दिनमा चलिरहेको छ ।”  चिकित्सकले उपचार गरेर निको हुन्छ भनेपछि अशा पलाएको उहाँ बताउनुहुन्छ । 

नेपाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख बराबरको उपचार खर्च प्रदान गर्दै आए पनि आफूलाई तर राहत कसरी लिने भन्ने कुरा थाहा नभएको उहाँ बताउनुहुन्छ । २०४१ सालबाट उहाँले आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभएका बलबहादुरले १५० भन्दा बढी गीत  रेकर्ड गराई सक्नुभएको छ । उहाँ पूर्व सैनिक पनि हुनुहुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।