• १२ वैशाख २०८१, बुधबार

नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का

blog

काठमाडौँ, वैशाख २७ गते। पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

महाशाखा प्रमुख शाक्यले भन्नुभयो, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । डेढ अर्ब रुपियाँको लागतमा सो पुल निर्माण हुन गइरहेको छ । स्वदेशी लगानीमा नै यो पुल निर्माण हुन लागेको हो । सो पुल निर्माणको लागि तुँदी निर्माण कम्पनी छनोट भएको हो । यस पुलको निर्माण अवधि चार वर्ष रहेको छ ।’’

उहाँका अनुसार यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थियो । तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो । 

महाशाखा प्रमुख शाक्यका अनुसार यो पुल ‘डिजाइन र निर्माण’ मोडलमा बनाइने छ । यस मोडेल अनुसार निर्माण कम्पनीले पुलको डिजाइन र निर्माण आफैँले गर्नुपर्ने हुन्छ । त्यसैगरी निर्माण सम्पन्न भएपछि कुनै समस्या भएमा निर्माण कम्पनीको नै बनाउनुपर्ने छ । 

महाशाखा प्रमुख शाक्यका अनुसार पर्यटकीय दृष्टिकोणले समेत अन्य समान्य पुलभन्दा ‘सिग्नेचर पुल’ को डिजाइन फरक तथा आकर्षक हुने गर्दछ । यस प्रकारको पुलको डिजाइन स्थानीय धर्म, संस्कृति र रहनसहन झल्किने गरी गरिएको हुन्छ । 

दायाँबायाँ फुटपाथ हुने यस प्रकारको पुलको डिजाइन पैदल यात्रुले दृश्यावलोकन गर्न सक्ने, फोटो खिच्न सक्ने गरी गरिएको हुन्छ ।