• ७ मंसिर २०८१, शुक्रबार

नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै,सरकारी लक्ष्य पूरा गर्न चुनौती

blog

काठमाडौं, वैशाख १७ गते । नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रारम्भिक रिपोर्टले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ । सन् २०१६ मा ६६ प्रतिशतले पूर्ण स्तनपान गराएका थिए भने २०२२ मा घटेर ५५ प्रतिशतमा झरेको छ ।

जनचेतनाको अभावले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको सरोकारवाला बत्ताउँछन् । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापा नवजात शिशुको वृद्धि विकासको लागि स्तनपान आवश्यक भएपनि पूर्ण स्तनपान गराउनेको सङ्ख्या  घट्दै जानु दुःखको विषय भएको बताउनुहुन्छ । 

सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।  तर आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दूधको विकल्पका उपलब्धता र शरीर बिग्रने डरका कारण स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गएको विज्ञहरूको मत छ । जसका कारण सरकारको लक्ष्य पुरा गर्न पनि चुनौती थपिएको पोषण शाखा प्रमुख थापा बताउनुहुन्छ ।  

स्तनपानको महत्त्व नबुझ्दा फर्मुला मिल्क खुवाउने प्रचलन बढ्दै गएको पाइन्छ । थापाका अनुसार जन्मनेबितिकै एक घण्टा भित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ ।   

उहाँ भन्नुहुन्छ, “स्तनपानको अभ्यासलाई सुधार गरिएमा वातावरणलाई स्वस्थ राख्नुका साथै वार्षिक रूपमा विश्वभर आठ लाख २० हजार शिशुहरूको ज्यान जोगाउन सकिन्छ ।” बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधबाट प्राप्त हुने हुँदा शिशु जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउन बालरोग विशेषज्ञ डा। कल्पना उपाध्याय सुबेदीको सुझाव छ ।  

पूर्ण स्तनपान भनेको के हो ?

डा. सुबेदीका अनुसार पूर्ण स्तनपान भनेको बच्चा जन्मिएको एक घण्टा भित्रबाट ६ महिनासम्म आमाको दूध मात्र खुवाउने प्रक्रिया हो । सुबेदीका अनुसार आमाको दूध शिशुको लागि पूर्ण आहारा भएकाले बच्चालाई ६ महिनासम्म अन्य खानेकुरा आवश्यक पर्दैन । 

स्तनपान गर्दा हुने फाइदा

पूर्ण स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकास अन्य बच्चाको तुलनामा राम्रो हुने चिकित्सक बत्ताउँछन् । डा। सुबेदीका अनुसार आमाको दूधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहार, प्रोटिन, फ्याट, क्याल्सियमजस्ता तत्त्व पाइन्छ । 

आमाको दूधमा इम्युनोग्लोबिन हुने हुँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । पाँच वर्ष मुनीका बच्चालाई डाइरिया, झाडापखाला,निमोनिया जस्ता रोग स्तनपानले बचाउने डा। सुबेदी बताउनुहुन्छ । आमाको दूधले पाँच वर्ष मुनिका बच्चाको मृत्युदर पनि कम गर्ने गर्छ ।

स्तनपानले गर्छ खोपको काम  

चिकित्सकका अनुसार बच्चा जन्मिएपछि जति सक्दो चाँडो स्तनपान गराउन चिकित्सकको सुझाव छ । विभिन्न अध्ययनहरूले पहिलो आउने विभक्ति दूधले पहिलो खोपको काम गर्ने देखाएको छ । यस्तो दूधमा प्रशस्त मात्रामा इम्युनोग्लोविन हुँदा बच्चामा रोगसँग लड्न सक्ने शक्तिको विकास हुने सुवेदी बताउनुहुन्छ । 

बच्चा जन्मिसकेपछि पहिलो पटक आउने दूध थोरै मात्र आएपनि महत्त्वपूर्ण हुने सुवेदीको भनाई छ । उहाँ भन्नुहुन्छ, “बच्चा जन्मनासाथ दूध बाहिर नफाली जति आउँछ, पहिलो पटक आएको दूध खुवाउनुपर्छ ।” 

कति पटक गराउने स्तनपान ?

चिकित्सकका अनुसार शिशुले चाहे अनुसार दूध खुवाउनु उत्तम उपाय हो । डा सुवेदी भन्नुहुन्छ, “कुनै शिशुलाई २ घण्टामा भोक लाग्ला, कुनैलाई तीन घण्टामा । अनि कुनै बच्चालाई चार घण्टामा भोक लाग्न सक्छ । यो कुरा बच्चामा भर पर्छ । त्यही अनुसार कतिपटक दूध खुवाउने भन्ने हुन्छ ।” नवजात शिशुलाई दुई देखि ४ घण्टाको बीचमा दूध खुवाउनु उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । अध्ययनका अनुसार २४ घण्टामा थोरैमा पनि ६ पटक खुवाउने र छिटो–छिटो खुवाएमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ ।    

कामकाजी आमाले पूर्ण स्तनपान कसरी गराउने ?

कामकाजी आमाले पनि पूर्ण स्तनपान गराउन सक्ने चिकित्सक बताउँछन् । अफिस जानुभन्दा अगाडि एउटा बट्टामा दूध निकालेर राख्ने र परिवारका अन्य सदस्यलाई  बच्चालाई आवश्यक परेको बेलामा आमाको दूध खुवाउन सक्छन् । 

यसरी निकालेको दूध चिसो मौसममा ६ घण्टा र गर्मी मौसममा चार घण्टासम्म राखेर खुवाउन मिल्ने चिकित्सकको भनाई छ। बट्टामा राखेको आमाको दूध २४ घण्टासम्म प्रयोग गर्नुपरेमा फ्रिजमा राखेर बच्चालाई दूध खुवाउन सकिन्छ । 

 शल्यक्रिया गरेकोले स्तनपान गराउन मिल्छ ?

शल्यक्रिया गरेर जन्मिएका बच्चालाई पनि आधा एक घण्टामा स्तनपान गराउन सकिने चिकित्सकको भनाइ छ । डा. सुबेदीका अनुसार शल्यक्रिया गरेर बाहिर निकालेपछि बच्चालाई आमाको छातीमा राखेर दूध चुसाउन सकिन्छ । बच्चाले जति छिटो दूध चुस्यो, त्यति नै दूध जम्मा हुने चिकित्सकको भनाइ छ । 

बच्चा दूध नआउनुको कारण 

बच्चालाई दूध नआउने कारण आमाको मानसिकताले धेरै प्रभाव पार्ने चिकित्सक बताउँछन् ।  उहाँ भन्नुहुन्छ, “दूध नआउने कारण आमाको मानसिकताले धेरै प्रभाव पार्छ । आमालाई मेरो बच्चालाई दूध खुवाउनुपर्छ भन्ने भावना भएमा बच्चा देख्नसाथ दूध आउँछ ।” बच्चाले आफैले दूध तान्न नसके बट्टामा निकालेर भएपनि खुवाउन चिकित्सकको सुझाव छ । 

बच्चाको आसन नमिलेको खण्डमा पनि आमाको दूध नआउने चिकित्सक बताउँछन् । “बच्चाको आसन सिधा हुनुपर्छ, बच्चाको शरीरलाई हातले सहयोग गर्नुपर्छ र बच्चाको मुख पूरा खुल्ला हुनुपर्छ ।  बच्चाको शरीर आमाको शरीरमामा टाँसिएको हुनुपर्छ,” डा. सुवेदी भन्नुहुन्छ ।

स्तनपान गराउने आमाले आफ्नो स्वास्थ्यको ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुराका साथै आरामको आवश्यक पर्छ ।

स्तनपान गराउँदा हुने फाइदा  

स्तनपान गराउँदा आमा र बच्चाको आत्मीयता बढ्छ । बच्चाका साथसाथै स्तनपान गराउँदा आमाको लागि पनि फाइदा हुने चिकित्सक बत्ताउँछन् । डा। सुबेदीले स्तनपान गराउने आमालाई स्तनको क्यान्सर, पाठेघरको मुख क्यान्सर हुने सम्भावना कम हुने बताउनुहुन्छ । शरीरका साथै सुत्केरी अवस्थामा हुने मानसिक समस्या पनि कम हुने डा। सुबेदी बताउनुहुन्छ । 

पूर्ण स्तनपानले परिवार नियोजनको पनि काम गर्ने चिकित्सक बत्ताउँछन् । स्तनपान गराउने आमाको गर्भ रहने सम्भावना न्यून हुने सुबेदीको भनाई छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।