• ११ वैशाख २०८१, मङ्गलबार

कलालाई विज्ञानसँग जोड्न जोड

blog

काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हस्तकलालगायत रैथाने सीप र समग्र ललितकलाको क्षेत्रलाई विज्ञानसँग जोड्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाली ललितकला पुस्तान्तरणकै कारण मात्र हालसम्म जीवित रहेको बताउँदै अर्थ र विज्ञानको आविष्कारसँगै उत्पादनमूलक तवरले पनि विस्तार र संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राज्यमन्त्री सुशीला श्रीपालीले ललितकलालाई उद्योगसँग जोड्दै यस क्षेत्रको वैभव र महत्वलाई उत्पादनको माध्यम बनाउनुपर्ने  बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रतिष्ठान सञ्चालनका लागि गुरुयोजनाजस्तै विशेष नीति तर्जुमा गर्दै ललितकलाको क्षेत्रमा अध्ययन, अनुसन्धान र सर्वेक्षणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा मूर्तिकार एवं उप–प्राध्यापक नरेन्द्रप्रसाद भण्डारीले लेख्नुभएको ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’ शीर्षकको पुस्तक सार्वजनिक गरिएको थियो ।