• १४ वैशाख २०८१, शुक्रबार

प्रदर्शनी धेरै, बिक्री कम

blog

काठमाडौँ, वैशाख १३ गते । केही वर्षअघिसम्म मात्र पनि कलाकारलाई आफूले सिर्जना गरेको चित्रबाट जीवन निर्वाह गर्न गाह्रो थियो । प्रचारप्रसारका लागि उपयुक्त माध्यमको अभाव, कलाचेतनाको कमी र कला प्रवद्र्धनका लागि सङ्गठित निकायको अभावले कलाकार आफ्नो सिर्जना थन्क्याउन बाध्य थिए । अहिले समय बदलिएको छ । चित्रकला हजारौँ, लाखौँ रुपियाँमा बिक्री हुन थालेका छन् । ग्यालरीमा झुन्ड्याइएका चित्रका मूल्य हेर्दा दुई हजारदेखि दस लाख रुपियाँसम्मका देखिन्छन् । चित्रकला प्रदर्शनीमा पुग्दा प्रायः चित्र बिक्री भइसकेको बताइन्छ तर पनि कलाकारले आफ्ना समस्या भने दर्शाउन छोडेका छैनन्, कलाकारले कलाले बजार नपाएको गुनासो मात्र गरेका छैनन् कलाको पर्याप्त प्रवद्र्धन नभएको र सरोकारवाला निकायले ध्यान नदिएकोमा उनीहरू दुःखी छन् ।  

हुन पनि सिर्जनाका अन्य विधाले जस्तो कलाले व्यावसायिक हिसाबले आजसम्म खासै चर्चा पाउन सकेको छैन । चित्रकला प्रदर्शनी दिनप्रतिदिन बढ्दै गए पनि यसले जनमानसमा भने अझ पनि राम्रो प्रभाव पार्न सकेको छैन । कुनै समय चित्रकला भनेको के हो ? भनेर सोध्ने आम–मानिसमा अहिले चित्रकलाको रङ संयोजन, बनाउने तरिका र यसले दिन खोजेको सन्देश के हो भन्ने चेतना जागेको छ । कलाको मूल्य तोक्न त्यति सजिलो छैन । एउटाको सिर्जना र मेहनतको मूल्य अर्काले तोक्नु उपयुक्त पनि हँुदैन । पछिल्लो समय चित्रकलासहितको कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले यसको केही विकास भएको देखिए पनि जति हुनुपर्ने त्यति नभएको बताउनुहुन्छ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर । 

कलाको विषय र प्रवद्र्धनका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ध्यान दिनुपर्छ भन्ने आवाज पनि बेलाबेलामा नउठेका होइनन् । प्रतिष्ठानको भूमिकाको विषयमा पनि आलोचनात्मक प्रतिक्रिया आउने गरेका छन् तर पनि प्रतिष्ठानले भने कलाका काम सबल तरिकाले भइरहेको जनाउँदै आएको छ । पछिल्लो समय चित्रकला प्रदर्शन हुने क्रम बढ्दो छ तर यसको बजारबारे कोही प्रस्ट छैन । चित्रकारले चित्र बनाउने काम गर्छ र आफ्नो चित्रको मूल्य पनि तोक्छ । यसले गर्दा चित्रको मूल्य प्रस्ट रूपमा तोकिएको हुँदैन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ भन्नुहुन्छ, “अरूको कलाको मूल्य हामीले कसरी तोक्न मिल्छ ? यसमा ललितकलाले केही गर्न मिल्दैन ।” यो त कलाकारकै कुरा हो । उहाँहरूले नै अवस्था हेरेर आफूले गरेको सिर्जनाको मूल्य तोक्ने हो । भूकम्पपछि चित्रकला प्रदर्शनीको अवस्था केही राम्रो थियो तर बीचमा कोभिडले थोरै अफ्ठ्यारो पारेको थुम्केली बताउनुहुन्छ । अहिले पनि खासै राम्रो नभएको उहाँको भनाइ छ ।

सिद्धार्थ आर्ट ग्यालरीको संस्थापक सङ्गीता थापा अहिले चित्रकलामा मन्दी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चित्रकलामा पैसा पनि छैन र प्रदर्शन गर्ने माहोल पनि छैन ।” यसको एउटा मुख्य कारण भनेको ग्यालरी नै हो । ग्यालरीको धेरै अभाव रहेको उहाँको दुःखेसो छ । ग्यालरी भए पनि भाडामा लिएर चलाउनुपर्छ । आफ्नो चित्रकलाको मूल्य कलाकारले नै निर्धारण गर्ने उहाँको भनाइ छ । हाम्रो बनाएको सिर्जनाको मूल्य अरुले तोकेर कहाँ हुन्छ, उहाँ भन्नुहुन्छ । महँगो मूल्य र चित्रकलालाई राम्रोसँग नबुझ्नाले पनि यसको मौलिकता हराउँदै गएको धेरै कलाकारको भनाइ छ । चित्रकला प्रदर्शनी हुन्छ र त्यसको भोलिपल्ट सबै चित्रकला लाखौँमा बिक्री भइसकेका हुन्छन् । कलाकारलाई राम्रो आम्दानी पनि हुन्छ । अहिले समय परिवर्तन भएको छ । अहिले धेरैको चित्रकला प्रदर्शन ग्यालरीमै हुन्छ । यदि ग्यालरी सञ्चालनमा केही सहज बनाइदिने हो भने चित्रकलाको मूल्यमा पनि सुधार गर्न सकिने स्वयं कलाकार बताउँछन् ।