दाङ समाचारदाता
दाङ, कात्तिक १३ गते । पश्चिम नेपालका थारू समुदायको महत्वपूर्ण बर्कानाच आर्थिक अभावले सङ्कटमा पुगेको छ । विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्कानाच अहिले दाङमा मात्रै सीमित छ । त्यो पनि जिल्लाको एउटै गाउँमा कहिलेकाहीँ मात्र नाचिने अवस्था छ । थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुङ्ग्या, झुम्रा, लट्हवा, लट्ठी, सख्या, पैयाँलगायत दर्जनौँ परम्परागत तथा मौलिक नाचमध्ये बर्कानाचको सांस्कृतिक र धार्मिक महत्व विशिष्ट रहेको पाइन्छ ।
बर्कानाचका अभियन्ता एवं घोराही–१०, जलौराका चन्द्रप्रसाद चौधरीले बर्कानाच अहिले पूर्ण रूपमा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । “थारू समुदायमा विविध मौलिक नाच छन्, ती नाच चाडपर्व अनुसार नाचिन्छन् । तीमध्ये बर्कानाच सङ्कटमा परेको छ,” चौधरीले भन्नुभयो । उहाँका अनुसार बर्कानाच थारू समुदायको तान्त्रिक संस्कार, धार्मिक विश्वास र सांस्कृतिक पहिचान बोकेको नाच हो । यसै गरी बर्कानाच महाभारतको कथासँग पनि जोडिएको छ । “यसमा थारू समुदायका परम्परागत गीत बर्कीमागर गाइन्छ,” उहाँले भन्नुभयो, “बर्किमार’ को शाब्दिक अर्थ ‘महाभारत’ हो ।”
बर्कानाच विशेषतः दसैँमा सुरु भई फागुन महिनासम्म नाचिन्छ । “यो नाचमा मादल बजाउन २२ वटा ख्वाट अनिवार्य रूपमा बजाइनु पर्छ,” चौधरीले भन्नुभयो, “अहिले मादल बजाउन जान्ने मानिसको अभाव छ, यो नाच नाच्दा कम्तीमा २७ जना महिला पुरुषको सहभागिता आवश्यक हुन्छ । उहाँले बर्कानाच सुरुवात गर्नुअगाडि भुह्यारथानमा विशेष पूजा गर्नुपर्ने संस्कार रहेको बताउनुभयो ।”
“यसमा लागत धेरै लाग्ने हुँदा आर्थिक पक्ष पनि चुनौतीपूर्ण बनेको छ र नाच गर्न पूजापाठ, पोसाक, बाजागाजालगायतमा धेरै खर्च लाग्ने भएकाले आर्थिक अभावका कारण पनि बर्कानाच लोप हुने अवस्थामा पुगेको छ,” चौधरीले भन्नुभयो । चौधरीले यस किसिमको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । “स्थानीय कला, संस्कृति, भाषा र साहित्य संरक्षणको जिम्मेवारी राज्यको हो । यी सम्पदा राष्ट्रका गहना हुन्, त्यसैले यसको संरक्षण गर्न राज्यले ठोस नीति र कार्यक्रम ल्याउनु आवश्यक छ,” चौधरीले भन्नुभयो ।