बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक १३ गते । सिन्धुली जिल्लामा खेतबारीमा काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।
धानबाली भित्र्याउने मुख्य समयमा दुई दिनदेखिको प्रतिकूल मौसमका कारण भएको वर्षाले खेतमा काटेको धान भिजेपछि किसानहरु चिन्तित बनेका हुन् । तिहार सकिएलगत्तै पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा परेका किसानलाई वर्षाले समस्यामा पारेको स्थानीय बताउँछन् ।
दुधौली नगरपालिका–१ तल्लो बंका निवासी किसान ध्रुव पहाडी आफ्नो एक बिघा खेतमा काटेर सुकाएको धानबाली वर्षाले भिजाएर नष्ट भएको गुनासो गर्नुहुन्छ । धान काट्ने बेलामा आकाशबाट पानी पर्ने कुनै छेकछन्द नदेखिएको र धान काटेपछि पानी परेर नोक्सानी व्यहोर्नुपरेको उहाँको भनाइ छ ।
स्थानीय किसानको अनुसार खेतबारीमा वर्ष दिन खाने धानबाली पाकेर पहेँलपुर बनेपछि किसानलाई चाडपर्वभन्दा पनि धान काट्नै हतार थियो । त्यसैले तिहार सकिए लगत्तै किसानहरुलाई आफ्नो धान काट्न भ्याइनभ्याइ भएको थियो । छिटो र सहज हुने भएकाले किसानले हाते मेसिन प्रयोग गरेर धान काटेका थिए ।
सिन्धुली जिल्लाकै अन्न भण्डारको रुपमा परिचित दुधौली नगरपालिकाको कमलाखुँज क्षेत्रमा ९० प्रतिशतभन्दा बढी किसानले खेतमा धान काटेर सुकाएका थिए । जल तथा मौसम विज्ञान विभागले अझै शनिबारसम्म वर्षाको सम्भावना भनेकाले किसानलाई चिन्ता थपिएको दुधौली नगरपालिका–४ निवासी किसान लक्ष्मी दनुवार बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘‘सबै किसानले खेतमा धान काटेर सुकाएर असरल्ल राखेका छन् । अझै दुई दिन पानी पर्छ, भन्छन् । चिन्तै चिन्ता छ ।’’
काटेर सुकाएको धान पानीले भिजेपछि कुहिने डर भएको उहाँको गुनासो छ । यता कृषि विकास कार्यालय सिन्धुलीले पनि प्रतिकूल मौसमका कारण किसानलाई दुई दिन (१५ गतेसम्म) धान काट्न ‘होल्ड’ गर्न सुझाव दिँदै आएको जनाएको छ ।
कार्यालय प्रमुख अनुप अधिकारीले जिल्लामा यो वर्ष १२ हजार ८६२ हेक्टर जमिनमा वर्षे धान खेती भएको र हालसम्म किसानले ५० प्रतिशतभन्दा बढी जमिनमा धान काटिसकेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘मौसम अनुकूल भयो भने कात्तिक २० गतेसम्म लगभग सबै किसानले धान काटिसक्छन् ।’’
नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कमलाखुँज क्षेत्र, मरिणखोला क्षेत्र र तीनपाटन क्षेत्र अन्नभण्डारका रुपमा छन् । जिल्लामा गत वर्ष १३ हजार ४४५ हेक्टरमा वर्षे धान खेती भएको र उत्पादन ५० हजार ११४ मेट्रिक्टन भएको कार्यालयले जनाएको छ ।