• १३ पुस २०८२, आइतबार

पवित्रादेवी स्मृति टी–२० क्रिकेट सुरु

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर स्पोर्ट्स एकेडेमीका खेलाडी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, पुस १३ गते । दाङको घोराहीमा पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ ।

दाङ युवा क्लबको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको समन्वयमा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा प्रतियोगिताको सुरु भएको हो । 

दाङ युवा क्लबका अध्यक्ष शारदा घर्ती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले खेलकुदको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । 

राज्यस्तरबाट खेलकुदका लागि छुट्याइने बजेट प्रयाप्त नभएको उल्लेख गर्दै सदस्य सचिव गौतमले  खेलकुद क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रका विचमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुदले महत्वपूर्ण सहयोग गर्ने भएकाले खेलकुदलाई पाठ्यक्रममा अनिवार्य शिक्षाका रूपमा समेर विद्यालय तहदेखि नै खेलकुदको विकास गर्ने सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य मजगैयाले निजी क्षेत्रबाट हुने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै नयाँ क्षमतावान खेलाडी उत्पादनमा महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य मजगैयाँले लामो समयदेखि दाङ जिल्ला क्रिकेट संघले क्रिकेट खेलको विकासका लागि लागिरहेको समयमा दाङ युवा क्लबले प्रतियोगिता आयोजना गरेर क्रिकेट खेललाई चलाएमान बनाउनका लागि महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।  

प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपियाँ र उपविजेता टिमले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगितामा जिल्लाका आठ वटा टोलीको सहभागिता रहेको छ ।

लिग कम नकआउट स्टिममा खेलाइने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई विद्यागत रुपमा पुरस्कृत गरिने आयोजक दाङ युवा क्लवका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार पुसको १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता पुसको २१ गतेसम्म सञ्चालन हुने भएको छ ।