प्रेमराज सिम्खडा
कालीकोट, बैशाख १२ गते । कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
वालिकामाथि जवर्जस्ती गर्ने रानालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले अपाङ्गता भएकी बालिकामाथि गरिएको जवर्जस्ती घटनाको जाहेरी आएको र मुद्दा दर्ताको प्रक्रियामा रहेको बताउनुभयो ।
बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको आशंका गरिएको उहाँको भनाइ छ । बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भएको बुझिएको छ । बालिकाको बुवा नमानेपछि घटना बाहिर आएको उहाँको भनाइ छ ।
अधिकारक्रर्मीमाथि आक्रमण
बालिका बलात्कारको घटना मिलाउन नदिएको आरोप लगाउँदै स्थानीय अधिकारकर्मी माथि आक्रमण भएको छ । बलात्कार आरोपित रानाका भतिजा जयलाल रानाले अधिकारकर्मी माथि कुटपिट गरेको खुलेको छ । रानाले आफ्नो जेठा बुवालाई जेल हाल्न घटना सार्वजनिक गरेको भन्दै तिलागुफा नगरपालिका ९ का अधिकारकर्मी विक्रम शाही, सरिता शाही र दुर्गवहादुर शाहीलाई रानाले कुटपिट गरेको पीडितको आरोप छ ।