• १४ वैशाख २०८१, शुक्रबार

‘फाँटमा बस्ती बाक्लिएर चैते धानखेती घट्यो’

blog

पाल्पाको पूर्वखोलास्थित रिङ्नेरह फाँटमा किसानले लगाएको चैते धान । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, बैशाख ५ गते । पाल्पामा चैते धान लगाउनेक्रम घटेको पाइएको छ । केही वर्ष अघिसम्म पाल्पाका अधिकांश फाँटहरूमा चैत धानखेती हुनेगरेकोमा पछिल्ला वर्षमा चैत धानखेती गर्नेक्रम घटेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

धान खेती हुने क्षेत्रमा बस्ती बढ्दै जानु, सुख्खापन बढ्नु, सिँचाइको सुविधा नहुनुजस्ता कारणले चैते धानखेती घटेको ज्ञान केन्द्रको भनाइ छ । केन्द्रका अनुसार दुई वर्षअघि ७०५ हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो । यो वर्ष घटेर ६२६ हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपाइँ भएको केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो । 

धान खेतीको क्षेत्रफल घटेपछि उत्पादन समेत घट्ने उहाँले बताउनुभयो । चैते धानखेती गर्नेक्रम बिस्तारै घटे पनि उत्पादन बढिरहेको सूचना अधिकारी गैरेको भनाइ छ । 

केही वर्ष अघिसम्म पाल्पाको माडीफाँटको धान खेती हुने कुल भूभागको ४० प्रतिशत भूभागमा चैते धानखेती हुनेगरेको थियो । माडीफाँटको अम्लिहान, लालपाटी, मैदान, बुडुवा, पुरिनढाव क्षेत्रमा चैते धानखेती हुनेगरेको थियो । अहिले ती क्षेत्रमा धानखेती नै हुन छाडेको लालपाटीका किसान सुरवीर कुमालले बताउनुभयो । माडीफाँट क्षेत्रमा चैते धान महिनामा धानखेती गर्नेक्रम हटेको उहाँले बताउनुभयो । 

सुख्खायाम र धानखेती हुने क्षेत्रमा बस्ती विकासले चैते धानखेती गर्ने क्षेत्रफल घटेको उहाँले बताउनुभयो ।

यो वर्ष पाल्पाको रामपुर फाँट, पूर्व खोला र हुँगी, धानकुना, निस्दीको गल्धा फाँटमा चैते धान रोपाइँ भएको छ । बाँकी अधिकांश फाँटमा धानखेती हुन नसकेको ज्ञान केन्द्रका प्रमुख कामना अधिकारीले बताउनुभयो । सुख्खायाम र धानखेती हुने क्षेत्रमा बस्ती विकासले चैते धानखेती गर्ने क्षेत्रफल घटेको उहाँले बताउनुभयो । धानखेतीका लागि समयमै मल नपाउने, ज्यामी नपाउने तथा अन्य खर्च समेत महँगो भएकाले यसको खेती कम हुँदैगएको किसानको भनाइ छ । पाल्पामा चैते १ र २, टाइचन र हर्दिनाथ जातका धानखेती हुँदैआएको छ । 

धानखेतीबाट भन्दा किनेर खान फाइदा हुने भएकाले पनि किसानको आकर्षण खेती गर्ने होइन, अन्य काम गरेर चामल किन्नेतिर ध्यान गएको माडी कसेनीका किसान मानबहादुर कुमालले बताउनुभयो ।