• १० कात्तिक २०८२, सोमबार

मकै उत्पादनमा जोड दिँदै किसान

blog

बाजुराका किसानले दैलोमा राखेका मकैको कुनिउँ ।

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक १० गते ।  बाजुराको अधिकांश गाउँ बस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् ।

पहिला यहाँका अधिकांश ठाउँमा मकै उत्पादन हुने गरेको भएपनि किसानहरुले भने प्राय यसको खेती गर्दैन थिए । उत्पादन भए पनि मकै कतै बिक्री नहुने भएकोले उनीहरु आफूलाई खानलाई मात्र मकै लगाउने गर्थे । 

अहिले मकै किन्नका लागि व्यापारीहरु किसानको घरमै पुग्न थालेपछि उनीहरु पछिल्लो समय मकै खेती गर्न थालेका हुन् । अहिले बजारमा मकैको माग बढ्दै गएपछि किसानले पनि मकै उत्पादनलाई प्राथमिकता दिदै आएको बुढीगङ्गा नगरपालिका वरिष्ठ कृषक भोलाराम जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूले पनि कुखुरा पालन गर्दै आएको छु । यहाँका अन्य किसानले उत्पादन गरेको मैले खरिद गर्दै कुखुरालाई चारो दिने गरेको छु ।” मकै स्वास्थ्यका लागि निकै उपयोगी भएकोले पनि अहिले देशका विभिन्न ठाउँदेखि हामीलाई मकैको माग गर्न थालेको जैशीले बताउनुभयो ।

मकै उसरी अन्य अन्नभन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगी यो बालीबाट विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनेका मकै वा पोलेका मकै खान मन पराउँछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त पोषण तत्व हुन्छ । 

मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्तनली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम फसफोरस र फलाम रहेको हुन्छ । 

तीमध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमता पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकैको क्षमता हुने गरेको विज्ञ बताउँछन् । 

बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा मकै र धान खेती राम्रो हुने गर्छ । यहाँको जगनाथ बुढीगङ्गा र त्रिवेणीमा सबैभन्दा मकै खेती बढी लगाउँन्छन् । यहाँ अन्य पालिकाको भन्दा पनि मकै राम्रो हुने गर्छ ।  यहाँका किसान पहिलादेखि प्रायः मकै खेती बढी गर्ने गर्छन् ।

पहिला यहाँका स्थानीयले थोरै मात्रामा मकै खेती गर्ने गर्थे । अहिले बजारमा मकैको माग हुन थोपछि उनीहरु फेरि मकै खेती बढी गर्ने गरेका हुन् ।

जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र  धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने  १.९ मे टन–हेक्टर धान उत्पादन हुने गरेकाे छ । यहाँको एक हजार ३५० क्षेत्रफल हेक्टर जमिनमा मकै खेती गरिन्छ । यसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुन्छ  । यहाँ १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।