बिकास अधिकारी
पश्चिम नवलपरासी, कात्तिक १० गते । पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको पाँचौँ सुनवल महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमकिता दिइने भएको छ । मङ्सिर १० देखि २१ गतेसम्म सुनवलको सोमनाथ बजार क्षेत्रमा उद्योग वाणिज्य सङ्घ सुनवलको आयोजनामा हुने महोत्सवमा महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने भएको छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्दे स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगोस् भन्ने उदेश्यले निशुल्क स्टल उपलब्ध गराउन लागिएको सङ्घका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । सुनवल र आसपासका क्षेत्रमा महिलाहरूले विभिन्न घरेलु उद्योग सञ्चालन गर्दे आएकाले ती उद्योगबाट उत्पादित वस्तुको बजारीकरणका लागि मेलामा प्राथमिकता दिइने सङ्घले जनाएको छ ।
महोत्सवमा ३० वटा स्टल महिला उद्यमीहरूका लागि निःशुल्क उपलब्ध गराइने छ । निःशुल्क स्टल राख्नका लागि महिला उद्यमीले नगरपालिका, घरेलु कार्यालय वा सम्बन्धित कार्यालयमा व्यवसाय दर्ता अनिवार्य हुनुपर्ने छ । १ सय रुपियाँ टिकट दर कायम गरिएको महोत्सवमा सामाजिक सुरक्षा भत्ता पाएका जेष्ठ नागरिकलाई निःशुल्क छ ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टल रहने छन् । महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।