• १० पुस २०८१, बुधबार

कोइली र काफल

blog

बेतिनी वन बाक्लो र हरियो थियो । वनमा धेरै काफलका रुखहरू थिए । ऐँसेलुका झाङमा ऐँसेलु लटरम्मै पाकेका थिए । काफल पाकेर रुखहरू राताम्मै थिए । चुत्रोका बुटाहरू चुत्रो पाकेर कालै भएका थिए । जामुनो पनि पाक्न थालेको थियो । झ्याउँकिरीका आवाजले वनको वातावरण सङ्गीतमय बनेको थियो । मान्छेका बस्तीभन्दा वन धेरै सफा, शान्त र आनन्ददायी थियो ।

चैत र वैशाख महिना वसन्त ऋतु । धेरै थरीका पूmलहरूले वनका पाटाहरू राताम्मे थिए । काफल र ऐँसेलु पाक्न थालेपछि हरेक वर्ष काफल पाक्यो चरा आउँथे । काफल पाक्यो चरा कोइली चराकै खलक हुन् । यसपालि पनि बेतिनी वनमा कोइलीहरू बोल्न थालिसकेका थिए । 

छानीछानी काफलका बोटहरूमा बस्दै कोइलीहरू कुहु कुहु गर्दै थिए । कतै काफलचरीहरू ‘अक्कोपक्को काफल पाक्यो’ भन्दै चिच्याइरहेका थिए । ऐँसेलु र काफलका रुखहरूलाई त्यस वनका कोइली र अरू धेरै चराले आमाको काखजस्तै प्यारो मानेका थिए । 

कोइली र काफल पाक्यो चराहरू बोल्न थाले । बेतिनी गाउँका मानिसहरूले चराहरूले ‘अक्कोपक्को काफल पाक्यो’ भनेको सुने  । उनीहरू समूह समूहमा मिलेर वनमा काफल र ऐँसेलु टिप्न जान थाले तोरीबारी गाउँका केटाकेटीहरू ।

उनीहरू सधैँजस्तो आज पनि हँसिया, नाम्लो र झोला बोके । लस्कर लागेर बेतिनी वन पसे । बाटाका दायाँबायाँ पाकेका ऐँसेलु र चुत्रो खाँदै काफल वनमा पुगे । काफल लटरम्मै पाकेको देखेर तिनीहरू दङ्ग परे । हुलका हुल केटाकेटीहरू आएका देखेर कोइलीहरूले आश्चर्य माने । उनीहरूलाई अलिअलि डर पनि लागेको थियो । 

वनमा पुगेपछि केटाकेटीहरू समूह समूहमा बाँडिए । प्रत्येक समूह फरक–फरक रूखमा चढे । काफल टिप्दै खान थाले । धेरै बेरसम्म रुखमै बसे । हातले भेट्न सक्ने जति सबै सिध्याए । हल्लाखल्ला पनि उत्तिकै गरे ।

कोइलीहरू बोलिरहेका थिए । काफल चराहरू ‘अक्कोपक्को काफल पाक्यो’ भन्दै थिए । उनीहरूलाई केटाकेटीहरूको व्यवहार चित्त बुझेको थिएन ।

केटाकेटीहरू कोइलीको बोली सुन्दै थिए । कोही भन्दै थिए, “ए साथीहरू, सुन त त्यो चरोले काच्चो नटिप, काच्चो नटिप भनिरहेको छ ।” कोही भन्दै थिए, “हो नि । काँचो नटिपूँ है । यो वन त उनीहरूकै हो नि ।” 

शान्ति बोलिन्, “सबै काफल हामीले खाइदिए उनीहरू के खान्छन् नि ?” अर्कोले थप्यो, “ठीक भन्यौ तिमीले । अब हामी ओर्लौं र जाऔँ ।” त्यति नै बेला एक हुल मौरी आए । उनीहरू पाकेका काफलका दानाहरूमा बसे । वरिपरि घुमेर हेरे र केही नबिगारी गए । 

अर्को रूखमा चढेका केटाकेटीहरू काफलका हाँगा भाँच्दै थिए । कोही हाँगा काट्दै थिए । त्यसै रुखमा रहेका कोही चाहिँ भन्दै थिए, “ए उता सुन त, त्यो चरा के भन्दै छ, हाँगा नभाँच हाँगा नभाँच भन्दै छ क्यारे ।” अरूले पनि धेरै हाँगा भाँचेर भए पनि धेरै काफल टिपे । अनि केटाकेटीहरू झोलाभरि काफल लिएर घर फर्के  ।

केटाकेटीहरू त्यहाँबाट फर्किएपछि कोइलीहरू काफलका रुखहरूमा पुगे । रुखको अवस्थाको राम्ररी अवलोकन गरे । त्यो अवस्था देखेर उनीहरू साह्रै दुखी भए । उनीहरूले काफलको बोटलाई भने, “काफल आमा, तपाईंहरूलाई त एकैछिनमा भताभुङ्ग बनाएछन् नि ति केटाकेटीले ।” 

रुखहरूले दुःख नमानी भने, “हो अलिअलि घाइते भएका छौँ । पीर नमान बाबु । हामी रुखहरू सबै खालको दुःख सहन सक्छौँ ।” 

एउटा कोइली अलि अघि बढ्यो र थप जान्न खोज्यो, “तपाईंलाई उनीहरूले पटक्कै माया गरेनन् । झन् हाँगाहरू भाँचे तर पनि उनीहरूलाई काफल टिप्न दिइरहनुभयो । किन नरोक्नु भएको आमा ?” 

कोइलीको कुरा सुनेपछि अलि बूढो काफलको रुखले भन्यो, “हामी सबै रुख बिरुवाको स्वभाव यस्तै हुन्छ । उनीहरूले कुनै दिन हाम्रो कुरा बुझ्नेछन् अनि राम्रो गर्लान् ।” “आहा ! कति सहनशील यी रूखहरू !” कोइलीहरूले रुखको स्वभावको प्रशंसा गरे । उनीहरू भुरर्र उडे र आफ्नो कामतिर लागे ।