चित्र मिजार
सिन्धुपाल्चोक, चैत २९ गते । सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिकाको परिचय, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, गाउँपालिकाभित्रका संस्कृति र संस्कार, घरेलु उद्योग, पशुपन्छी, माछापालन व्यवसायलगायतका नौ विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो। पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन विधिलगायतका विषय समावेश गरिएका छन्।
बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा छ सदस्यीय कार्यदलले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो। कार्यदलले दुई महिना लगाएर ‘हाम्रो सुनकोशी’ नामक स्थानीय पाठ्यक्रम तयार गरेको छ। शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग राय, सुझाव सङ्कलन गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको संयोजक न्यौपानेले बताउनुभयो।
सुनकोशी गाउँपालिकामा एक निजीसहित ३३ विद्यालय छन्। निजी र सामुदायिक सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो।