• ११ मंसिर २०८१, मङ्गलबार

एउटी नारीको विद्रोहको कथा ‘बहाव’

blog

काठमाडौँ, चैत २६ गते । ‘चुप होइन यो समय भनेको चुम्बनको हो’ चलचित्र ‘बहाव’को प्रदर्शनअघि यो संवाद दर्शकबीच धेरै नै चर्चामा रह्यो । अझ टिकटकमा त यो संवाद भाइरल नै बनेको थियो । चलचित्र प्रदर्शनअघि नायिका सुरक्षा पन्तको १८ सेकेन्डको लामो चुम्बनको दृश्यले पनि राम्रै चर्चा बटुल्न सफल भयो । 

‘बहाव’ मायाप्रेमको कथाभन्दा पनि एउटा फरक मिठास भरिएको चलचित्र हो । चलचित्रको सुरुवात नै कलेज पढ्ने युगल जोडीको मायाप्रेमबाट सुरु हुन्छ । चलचित्रभित्रको पहिलो भाग केही प्रेमिल भए पनि त्यसपछिको अवधिभर दर्शकलाई चलचित्रमा मायाप्रेमका दृश्य भेट्न निकै कठिनाइ पर्छ । चलचित्रको कथा दर्शकले अनुमान लगाएभन्दा धेरै फरक छ । सन्ध्या (सुरक्षा पन्त)को जीवन वरिपरि घुमेको कथा हो ‘बहाव’ । सन्ध्या, जवान र भावुक केटी, आफ्नो जीवनमा सपना र लक्ष्य लिएर हिँडेका छन् । कलेजपछि उहाँ आफ्नै प्रकारको जीवन बाँच्न चाहनुहुन्छ तर उहाँलाई आफ्नो जीवनशैली आफ्नै तरिकाले चलाउन धेरै मुस्किल पर्छ । उहाँका आमाबुवा विवाह गरेर छोरीको घरबार होस् भन्ने चाहनुहुन्छ तर छोरी भने अहिले नै विवाह गर्ने सोचमा देखिन्नन् । उहाँको चाहना र आमाबुवाको इच्छाबीचको झगडाले उब्जिएको अवस्थाको चित्रण चलचित्रभित्र पान्इन्छ । चलचित्र एउटा मध्यम वर्गीय परिवारभित्रको सामान्य कथामा बुनिएको छ । सन्ध्याले आफूमाथि परिवारले गरेको अनेकन हक अधिकारको व्यवहारको कसरी विद्रोह गरेकी छन् भन्ने कुरा चलचित्रमा देखिन्छ । सन्ध्याको विद्रोहले नै चलचित्रको अन्त्य हुन्छ ।   

चलचित्र अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वको कथा हो । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।  चलचित्रमा समाजभित्रको अन्तर्विरोधलाई देखाएको छ । जहाँ समाजभित्र रहेको विभेदको जरा उखेल्न नसकिरहेको अवस्थामा ‘बहाव’ले त्यो जरा उखेल्ने काम गरेको छ । चलचित्रले अवश्य नै समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ र समाजको वास्तविक कथा बताउँछ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने ‘बहाव’भित्र  प्रेमीप्रेमिकाका कुरालाई बृहत् ढङ्गबाट देखाइएको छ तर यसको अधिकांश दृश्यमा प्रेमी कहीँ पनि देखिँदैनन् । केवल प्रेमिकाले आफ्नो प्रेमीमाथि दर्साएको प्रेमिल अनुभव मात्र देखिन्छ, जुन चलचित्रको सबैभन्दा कमजोर पक्ष हो ।  

चलचित्रमा बुवाको भूमिकामा देखिनुभएका कलाकार कमलमणि नेपालको अभिनय प्रशंसायोग्य छ । हरेक समय कसैको पनि बुवा आफ्नी छोरीको राम्रो भविष्य कसरी बनाउन सकिन्छ भन्ने कुरा मात्र सोचिरहेको हुन्छ, त्यही कुरालाई नेपालले चलचित्रमा आफ्नो अभिनयमार्फत दर्साउन खोज्नुभएको छ । त्यस्तै सन्ध्याको भाइको भूमिकामा देखिनुभएका कलाकार सजन (अफरान अली)को अभिनयलाई पनि दर्शकले अवश्य रुचाउनुहुन्छ । एउटा दिदीभाइको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा उहाँको अभिनयबाट थाहा हुन्छ । अन्य कलाकार सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठको अभिनय ठीकठाक छ । निर्देशक प्रमोद कँडेलको यो पहिलो चलचित्र हो तर चलचित्र हेरुन्जेल कतै पनि यस्तो लाग्दैन कि उहाँको यो पहिलो निर्देशन हो । भारतमा चलचित्र मेकिङ पढ्नुभएको कँडेलको निर्देशकीय पक्ष राम्रो छ ।