• १२ साउन २०८१, शनिबार

पत्रकारिताले जुराएको पेसा

blog

काठमाडौँ, चैत २५ गते । नेपालमा पछिल्लो समय सञ्चारकर्मबाट चलचित्र लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मीको सूची लामै बन्दै गएको छ। पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनमा आउने चलन खासै नयाँ भने होइन। जानेर होस् या रहरले, सबैलाई यो पेसाले उत्साहित बनाएको छ। दिनेश डीसी, यज्ञश, सुचित्रा श्रेष्ठ, फूलमान बल, दीपेन्द्र लामा, लक्ष्मण सुवेदी, सुव्रत आचार्य, डब्बु क्षेत्री, श्रीधर पौडेललगायतका चलचित्र पत्रकारले पत्रकारिता हुँदै चलचित्र क्षेत्रमा पनि हात हाल्नुभएको छ। 

‘फिटकिरी’ चलचित्रको लेखनमार्फत यस क्षेत्रमा प्रवेश गरेका पत्रकार यज्ञश चलचित्र लेखनमै व्यस्त हुनुहुन्छ। उहाँद्वारा लिखित दोस्रो चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गर्ने चर्चा छ। पत्रकार फूलमान बलले पहिलो निर्देशन गर्नुभएको चलचित्र हो, ‘नीरफूल’ । एक वर्षअगाडि नै चलचित्रको छायाङ्कन सकिए पनि विभिन्न प्राविधिक कारणले प्रदर्शन हुन नसकेको चलचित्र जेठ १९ मा प्रदर्शनमा आउने तय भएको छ। दिनेश डीसीले विद्युतीय आमसञ्चारमाध्यममा धेरै अनुभव सँगाल्नुभएको छ। कान्तिपुर एफएममा लामो समय काम गर्नुभएका उहाँले ‘छ एकान छ’, ‘फुलैफूलको मौसम तिमीलाई’, ‘दाइको ससुराली’, ‘मायाज बार’ चलचित्र निर्देशन गरिसक्नुभएको छ। 

त्यस्तै पत्रकारिताबाट पछिल्लो समय निर्देशनमा आइपुग्ने अर्का व्यक्ति हुनुहुन्छ, दीपेन्द्र लामा। दीपेन्द्र अहिले पत्रकारिताको छविबाट भन्दा पनि निर्देशकको नामबाट धेरै चिनिनुहुन्छ। ‘घामपानी’ उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र हो। लामा यति बेला आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’को छायाङ्कनमा व्यस्त हुनुहुन्छ। निर्देशक लामा आफूलाई पहिलादेखि नै चलचित्रको भूतले छोएकाले पत्रकारिताबाट चलचित्र निर्देशनमा लागेको बताउनुहुन्छ। “मलाई यो क्षेत्रमा आउन चलचित्र पत्रकारिताले धेरै सहयोग ग-यो,” लामा भन्नुहुन्छ, “चलचित्र पत्रकारिता फराकिलो छ। यसमा दत्तचित्त भएर काम गर्ने हो भने एकदमै रमाइलो छ। रङ्ग पत्रकारिताले चलचित्र निर्देशनलाई धेरै सहयोग गर्छ।”

चलचित्र समीक्षक मनोज पण्डित आफूले यस क्षेत्रमा पत्रकारिताको हिसाबले भन्दा पनि समीक्षकको हिसाबले काम गरेको बताउनुहुन्छ। ‘दासढुङ्गा’, ‘वधशाला’ निर्देशन गरिसक्नुभएका उहाँको पत्रकारिताबाट खासै आयस्रोत नहुने ठम्याइ छ। उहाँ भन्नुहुन्छ, “अहिलेको समय भनेको हामीले सिक्ने हो। कुनै पनि व्यक्तिले चलचित्र निर्देशन गर्नुपूर्व चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ।”

‘एउटा साथी’ निर्देशन गर्दै चलचित्र निर्माणमा प्रवेश गर्नुभएका पत्रकार लक्ष्मण सुवेदीले चलचित्र ‘लालजोडी’ निर्देशन गर्नुभयो। नयाँ चलचित्र सतीदेवी वैशाखको पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा रहेको निर्देशक सुवेदीले बताउनुभयो। त्यस्तै रङ्गपत्रकार डब्बु क्षेत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशन, गीत रचना र छोटा चलचित्रमा व्यस्त हुनुहुन्छ। उहाँले चलचित्र राहदानीको निर्देशन गर्नुभएको छ। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य भने टीभी सोको तयारीमा हुनुहुन्छ। उहाँ अहिले चलचित्र निर्देशनको काम केही समय थाती राख्दै म्युजिक भिडियो निर्देशनमा सक्रिय देखिनुभएको छ। चलचित्र निर्देशन गर्ने भोकले नै रङ्ग पत्रकारितामा लागेको बताउनुहुन्छ, निर्देशक सुव्रत आचार्य। पहिले नायक बन्ने सपना बोकेर यो क्षेत्रमा प्रवेश गरे पनि पछि पत्रकारिता हुँदै चलचित्र निर्देशनतिर लागेको उहाँ बताउनुहुन्छ। त्यस्तै पत्रकारिताबाट चलचित्रमा लगानी गर्ने निर्माता हुनुहुन्छ, श्रीधर पौडेल। चलचित्र ‘गोपी’मार्फत निर्माणमा हात हाल्नुभएका श्रीधरको दोस्रो चलचित्र ‘बहाव’ हो; जुन अहिले प्रदर्शनमा छ। पहिलो चलचित्रमा लगानी गर्दा केही डर र त्रास भएको पौडेल बताउनुहुन्छ।