ढल्केबर समाचारदाता
ढल्केबर, चैत २२ गते । जनकपुरधाम उपमहानगरपालिका–१४, पिडारी चोकमा गैरकानुनी रूपमा सञ्चालनमा रहेको एक कल सेन्टरबाट ९० थान कम्प्युटरसहित २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदबहादुर गौतमका अनुसार नौ महिला र १४ पुरुष गरी २३ जना पक्राउ गरिएको हो। सोमबार साँझ गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रितपूर्वक छापामारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।
उहाँका अनुसार अवैध तबरले कामदार राखेर सूचनाका विभिन्न प्रविधिमार्फत व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाई गर्ने जस्ता गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। थप अनुसन्धान कार्य भइरहेको बताउँदै प्रवक्ता गौतमले उक्त कल सेन्टरका मुख्य सञ्चालकको खोजी कार्य भइरहेको जानकारी दिनुभयो।
यस गिरोहमा काम गर्ने प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवती रहेका छन्। अवैध रूपमा विद्युतीय कारोबारमार्फत एक देशमा बसेर अर्को देशका नागरिकलाई विभिन्न एप बनाएर नाङ्गो तस्बिर आदानप्रदान गरी ठगी गर्दै आएको आरोप छ। पर्साको पकहा मैनपुर–५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला घर भई जनकपुरधाम बस्दै आएकी सञ्जु साहले विगत तीन महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँको नाममा अवैध कल सेन्टर चलाउँदै आएको खुल्न आएको प्रवक्ता गौतमले बताउनुभयो।