• ८ वैशाख २०८१, शनिबार

भोटसँगको व्यापारका अनेकौँ कथा

blog

पहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट तथा नेपालपट्टिका तिब्बती बजारसम्म जानु सामान्य नै थियो । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोशी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय क्षेत्र नुन व्यापारका मुख्य नाका थिए ।

पुराना र पाका मानिससँग नुनका अनेकौँ कथा छन् तर अहिलेका युवालाई ती एकादेशका कथा मात्रै हुन् । भोटेकोशी किनार भएर जाने नाकाका धेरै कथामध्ये एउटा कथाले सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेपलाञ्चोसम्मलाई प्रतिनिधित्व गर्दछ । 

अहिलेको थानकोट र साँगा भन्ज्याङजस्तै चल्तीको बाटो थियो नाङ्लेभारेको नाका । काठमाडौँबाट चीनसम्म जाने बाटो भएकाले त्यतिबेला निकै चहलपहल हुने गरेको थियो त्यहाँ । पाटी, भन्ज्याङ र जलबिरे हुँदै आउने व्यापारी सोही ठाउँमा आएर रोकिन्थे । 

‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर वास्तविकता नै थियो । तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका धेरै आयाम अहिले रोकिएका छन् । 

नुन मार्गका ढाक्रेहरूलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी–पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने तथा पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरु भएको हो भन्न सकिन्छ । भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकोमा पछिल्लो समय देश पूर्ण रूपमा नुनमा परनिर्भर छ । 

त्यतिबेला चीनमा सात रुपियाँमा एउटा च्याङ्ग्रा पाइन्थ्यो । ती च्याङ्ग्राको मोल यता आउँदा १८ रुपियाँसम्म पुग्थ्यो । किनेर खानेले ठ्याक्कै दुगुना पैसा तिर्नु पर्दथ्र्याे । च्याङ्ग्रा ल्याउँदा कतिपय बाटोमै हराउँथे, कोशीले बगाउँथ्यो । केही मुनाफा राखेर व्यापारीले भेडा च्याङ्ग्रा बेच्ने गरेका थिए । टोलभरिका मानिस मिलेर भेडा च्याङ्ग्रा किनेर ल्याउँथे । १९९६ सालतिर दुई हजार बोकेर जानेले तीन सयवटासम्म च्याङ्ग्रा ल्याउने गर्दथे । त्यो समयमा उताबाट ल्याउने भनेको नुन, राडीपाखी र च्याङ्ग्रा नै थियो । जिम्बु बेच्न नै थाक्सेहरू नेपाल आउँथे । 

काठमाडौँ उपत्यकामा बेच्न ल्याएका भेडा च्याङ्ग्रा चीनबाट ल्याएर चौरमा राखिन्थ्यो । कालान्तरमा तिब्बतका भोटेले भेडा ल्याएर राख्ने भएकाले सो ठाउँको नाम नै भोटेचौर रहन पुग्यो भन्नेहरू पनि छन् । अर्काेतिर तामाङ समुदायका मान्छे कुन्चोङबाट सो स्थानमा बसाइ सरेर आएपछि उहाँहरूको अन्तिम संस्कार गर्न माने बनाएपछि सो स्थानको नाम भोटेचौर रहन पुगेको बताइन्छ । 

भोटसँग अनौठो नाता थियो भोटेचौरको । हरेक दिन भोटका नुन र च्याङ्ग्रा आएर भोटेचौरमा रोकिन्थे । अचेल उपत्यका नजिकैको चर्चित पर्यटकीय केन्द्रका रूपमा उदाएको छ, भोटेचौर । त्यहाँको चिया बगानलाई राजधानी नजिकैको अर्को इलाम भन्ने धेरै छन् । चिया बगानमा घुम्न जानेहरूको लर्को लाग्ने गरेको छ तर विगत त्यस्तो थिएन । २००० सालतिर त्यहाँका मान्छे नुन लिन तिब्बतसम्म जाने बाध्यता थियो । 

भोटबाट नुन मात्रै ल्याइँदैनथ्यो राडीपाखी, भेडा र च्याङ्ग्रा ल्याइन्थ्यो । नुन बोक्न बलिया मान्छे भोटसम्म जान्थे । त्यतिबेला ५० रुपियाँ बोकेर जाने मान्छेले एक मुरी नुन, घरभरिलाई पुग्ने राडीपाखी बोकेर आउँथे । धेरैले भने १० पाथीसम्म नुन ल्याउन सक्थे । केही केहीले व्यापार पनि गर्थे । भोटेचौरका जन्तरे चौलागाईं बूढाले १७ पाथी नुन ल्याएका थिए । उनले चीनको केपाको पाखाबाट निगालो ल्याएर भोटेचौरमा सारेका थिए । उनले ल्याएर रोपेको निगालोको झाङ अझै पनि भोटेचौरमा छ । पाँच रुपियाँमा भने जति नुन ल्याउन पाइन्थ्यो । 

भारी बोक्नुबाहेकको विकल्प नै थिएन । बलियो ज्यान र थाप्लोमा नाम्लो बोकर नुन लिन उतासम्म पुग्दथे । नुन ल्याउन भोटसम्म जानेको सङ्ख्या धेरै हुन्थ्यो तर साथी मिलाएर र समय मिलाएर मात्र नुन लिन जानेहरू हुन्थे । वर्षा सकिएर भदौ लागेपछि नुन लिन जाने क्रम सुरु हुन्थ्यो । 

घरबाट हिँडेको एक महिनापछि मात्रै आउने गरी सामल बोकेर हिँडिन्थ्यो । नुनको भारी अनि त्यसमाथि खाने सामल बोकेर जानेहरूको लर्काे हुन्थ्यो तर बाटोमा बास बस्नेबाहेक अरू खानेकुरा पाउन सकिँदैनथ्यो । खानेकुरा आफैँले व्यवस्थापन गर्नु पर्दथ्यो, होटल थिएनन् । रात बसेको ठाउँबाटै बिहानको खाना खाएर हिँड्ने गरिन्थ्यो । बास बसेको ठाउँमा अन्न दिएर सुत्न पाइन्थ्यो । त्यसमै मान्छे खुसी हुन्थे । 

हलुका सामान, दाल दलेर बोक्ने, चामल र पिठो आफैँ बोकेर जानेहरू हुन्थे । पाखीको मूल्य सात रुपियाँबाट २० रुपियाँसम्मका हुन्थे । चुरूप पाखीको २० रुपियाँसम्म पर्दथ्यो । त्यो अहिलेको पस्मिना जत्तिकै थियो । बालबालिकाको दिसापिसाबबाट जोगाए वर्षाैं लगाउन सकिन्थ्यो । एउटै पाखीले मध्य जाडोलाई सहजै धान्थ्यो । कहाँ कसरी गएर बस्ने भनेर पहिल्यै नक्सा बनाएर जाने गरिन्थ्यो । पहिलो दिन घरबाट हिँडेको पहिलो दिन नवलपुर बसिन्थ्यो । दोस्रो दिन जलबिरे । चौताराको छोटी अड्डा थियो । गुमथान त्यहाँ बस्ने व्यवस्था थियो तेस्रो दिन सोही ठाउँमा बसिन्थ्यो । अहिले पनि सो ठाउँ चर्चित नै छ । चौथो दिनमा खासा र पाँचौँ दिन भोटको कुती सहर पुगिन्थ्यो । 

लातीखोला, बेलुका बस्न पुगिन्थ्यो । काङलाङ बसेपछि 

भोटेकोशीको किनारा नै किनारा जानु पर्दथ्यो । त्यो बेला बाइसेको साँघु तरेर जानुपर्ने हुन्थ्यो । त्यो एउटै खोलामा यताउता गरेर मुडा तेस्राएर राखिएका हुन्थे । खर्कमा बस्तु पाल्नेले तिरोबापत पुल हाल्नु पर्दथ्यो । तिरो नै त्यही हुने थियो । एउटै पुल २२ ठाउँमा तरेर जानु पर्ने बाध्यता थियो । रातको समयमा भने धेरै ठाउँमा काठका मुडा हटाउने प्रचलन पनि थियो । 

चीन छिर्न कसको घरमा बस्ने विषयमा सेनालाई जानकारी दिनु पर्दथ्यो । थाक्सेहरूले आएर आफ्नो घरमा बस्ने कुरा सुनाएपछि प्रवेशको अनुमति पाइन्थ्यो । थाक्सेले आफ्नो घरमा बस्न सुविधा दिन्थे । सोबापत चामल र पिठो दिनु पर्दथ्यो । भात पकाउन धुपीको सिन्का थाक्सेले दिए पनि चिसोले चामल पाक्दैनथ्यो ।