• १५ वैशाख २०८१, शनिबार

विश्व रङ्गमञ्च दिवस

'कलाकार आफू र समाजप्रति इमानदार हुनुपर्छ'

blog

वरिष्ठ अभिनेता एवम् रङ्गकर्मी हरिहर शर्मा र निर्देशक तथा वरिष्ठ रङ्गकर्मी अशेष मल्ल ।

काठमाडौं, चैत १३ गते । आज ६२ औँ विश्व रङ्गमञ्च दिवस अर्थात् रङ्गकर्मीहरूको उत्सवको दिन । नेपालका स्थापित र सुपरिचित रङ्गकर्मीहरूको विचारमा सच्चा कलाकारमा आफू र समाजप्रति इमानदार हुनु जरुरी छ । यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ । यसमा निरन्तरता, अध्ययन र धैर्य आवश्यक छ । 

जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनु भएका निर्देशक तथा वरिष्ठ रङ्गकर्मी हुनुहुन्छ अशेष मल्ल भन्नुहुन्छ, ‘‘मेरा लागि रङ्गमञ्च ठूलो क्यानभास हो, मानौँ मलाई सगरमाथा पुग्नु छ भने म त्यहाँ पुग्न पर्दैन, सगरमाथा मैले आफ्नो नाटकमा सिर्जना गर्नसक्छु ।’’

निर्देशक मल्ल भन्नुहुन्छ, “नाटकमा लगनशीलता, धैर्य र निरन्तरता हुनुपर्छ । धैर्यबिना कुनै पनि व्यक्ति रङ्गमञ्चतर्फ आकर्षित नभएको राम्रो ।” ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएका निर्देशक मल्लका लागि रङ्गमञ्च जीवनको सबैभन्दा सशक्त ठाउँ हो । कलाका विभिन्न माध्यममा सबैभन्दा बलियो माध्यम नै नाटक हो, जसमा सबै कुरा समेटिएको हुन्छ ।

निर्देशक मल्लका अनुसार, कुनै पनि व्यक्तिमा प्रतिभासँगसँगै अभ्यास पनि हुन जरुरी छ । “तर कुनै पनि व्यक्तिमा जतिसुकै प्रतिभा भए पनि इमान नभएमा केही उपलब्धि हुन सक्दैन । कलाकारको विषयमा पनि उस्तै हो”, उहाँले भन्नुभयो । 

“प्रतिभाशाली कलाकारहरूमा पनि इमानको कमी छ,” निर्देशक मल्ल भन्नुहुन्छ, “एक सच्चा कलाकारका लागि आफूप्रति, समाजप्रति इमान हुनु सबैभन्दा पहिलो प्राथमिकता हो ।” 

आज विश्व रङ्गमञ्च दिवसको अवसरमा सम्पूर्ण कलाकारलाई शुभकामना दिँदै धैर्य र निरन्तरता कलाकारको बलियो हतियार भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार नेपाललगायत अन्य देशमा पनि नाटक व्यवसायको रूपमा विकास हुन सकेको छैन । “नाटक व्यावसायिक र आर्थिकरुपमा बलियो छैन भन्ने कलाकारहरुले बुझ्नुपर्छ । यसबाट कुनै आय आर्जन नभए पनि आफ्नो प्रतिभामा धैर्यता राख्नसक्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

मल्लको भन्नुहुन्छ, “कला क्षेत्रमा धेरै पीडा छ, यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ । यसमा निरन्तरता, अध्ययन र धैर्य आवश्यक छ । यी तीन वटा नभएमा कला क्षेत्रमा दुःखबाहेक अरू केही छैन ।”  

नेपाली रङ्गमञ्चलाई बचाउन हाम्रो पुस्ताले गरेको जस्तो त्याग र मिहिनेत अहिलेको युवा पुस्ताले गर्नुपर्ने उहाँको सुझाव छ । 

‘साहित्य र कला एक सिर्जनशील क्षेत्र’

यस्तै, वरिष्ठ अभिनेता एवम् रङ्गकर्मी हरिहर शर्माले पनि रङ्गमञ्चलाई आफ्नो जीवनको ५० वर्ष बढी दिइसक्नुभएको छ । उहाँका अनुसार नाटक सशक्त माध्यम भए पनि सजिलो हुँदैन । उहाँका अनुसार, साहित्य र कला एक सिजनशील क्षेत्र हो । कलाकारहरूलाई भगवान् लक्ष्मीको भन्दा बढी सरस्वतीको साथ छ । त्यसैले यो क्षेत्रमा लाग्ने अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर नै हुने उहाँको भनाइ छ ।

‘रङ्गमञ्च अभिनयको आधारभूत थलो हो । कतिपय कलाकारको लागि रङ्गमञ्च कला यात्राको पहिलो घर पनि हो । यस क्षेत्रमा आर्थिकरुपले जति पीडा भए पनि मानसिक रूपमा सन्तुष्टि मिल्छ ।

रङ्गमञ्चमा पहिलेभन्दा अहिले धेरै राम्रा परिवर्तन भएको शर्मा महसुस गर्नुहुन्छ । अचेल रङ्गमञ्चप्रति मानिसको झुकाव बढ्न थाल्नुसँगै सामाजिक, राजनीतिक, आर्थिक अवस्थामा पनि उन्नति हुँदै गएको उहाँको भनाइ छ ।

हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने चलन छ । सन् १९४८ मा युनेस्कोले मार्च २७ लाई रङ्गमञ्च दिवस मनाउने घोषणा नै गरेको हो । यो दिवस सन् १९६१ बाट पूर्ण रूपमा मनाउन सुरु गरिएको हो ।