बाढीले कुलो बगाइदियो । धान उत्पादन हुनै छाड्यो, जसले चुलो बाल्नै कठिन भयो । आजकल त पहिलेको जस्तो पानी पर्दैन । परिहाले पनि ठुलो बाढी आएर बस्ती नै बगाउला झैँ हुन्छ । कहिले त खडेरी नै पर्छ ।
राधा लुइटेल
फिदिम, मङ्सिर ७ गते । जलवायु परिवर्तनको असर हेवाँ खोला र तमोर नदी सङ्गमस्थल वारिपारि बसोबास गर्ने माझी समुदायका भान्सासम्म नै परेको छ ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा यी माझी समुदायका बस्ती छन् । केही वर्षयता यहाँका बालीनाली, बस्तुभाउ र मानिसमा फरक फरक समस्या देखिएको स्थानीयवासीले बताएका छन् । छत्तिस घरधुरी रहेको माझी बस्तीमा बाढी, पहिरो, अनियमित वर्षा र खडेरीले जीवनयापन नै प्रभावित भएको छ ।
माझीटारकी मिना माझी पहिले धान, मकै, गहुँ, आलु राम्रै फल्ने यो ठाउँमा अहिले बालीनालीमा रोग लाग्ने गरेको बताउनुहुन्छ । खोलामा पनि माछा देखिनै छाडेको उहाँले सुनाउनुभयो । स्थानीयवासी ममिता माझीले भन्नुभयो, “पहिले पुरुषहरू डुङ्गा खियाएर माछा मार्थे । पुल बनेपछि यो पेसा हरायो । बाढीले कुलो बगाइदियो । धान उत्पादन हुनै छाड्यो, जसले चुलो बाल्नै कठिन भयो ।” उहाँले थप्नुभयो, “आजकल त पहिलेको जस्तो पानी पर्दैन । परिहाले पनि ठुलो बाढी आएर बस्ती नै बगाउला झैँ हुन्छ । कहिले त खडेरी नै पर्छ ।”
माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष राम माझी खोलामा माछा मासिँदै जाँदा माझी समुदायको रोजीरोटी नै सङ्कटमा परेको सुनाउनुहुन्छ । ‘पन्ध्र वर्षअघिसम्म तमोर र हेवाँ खोला माछाका खानी जस्तै थिए, जाल बोकेर एक डेढ घण्टा निस्कँदा चार/पाँच किलोसम्म माछा मारेर ल्याइन्थ्यो । पछिल्ला वर्ष दिनभरि खोलामा जाल हान्दा पनि एक किलो माछा मार्न मुस्किल पर्छ’, अध्यक्ष माझीले भन्नुभयो ।
हिलिहाङ–७ का ७१ वर्षीय जसबहादुर माझीका अनुसार करिब १५ वर्षअघि जेठ महिनामा एकै रात ताप्लेजुङका विभिन्न स्थानमा पहिरो गयो । उक्त पहिरोपछि बगेको लेदो तमोरमा मिसिँदा आएको बाढीले ठुलो परिमाणमा त्यहाँका माछा बगायो । त्यो बेला बाढीले बगाउँदै ल्याएका माछा स्थानीयले टिपेर बेचे पनि । त्यसपछि झन्डै १० वर्ष माछाको सङ्ख्यामा ह्रास आयो । २०८० असार २ गते अचानक हेवाँ खोलामा आएको बाढीले हेवाँ खोलासँगै तमोर नदीका माछा सत्यानाश ग¥यो । २०८१ असोज १२ गते पुनः बाढी आएर रहलपहल माछा सबै बगाइदियो । यसरी आकस्मिक रूपमा आएका बाढीबाट मानिस र जनावरसहित जलचरको पनि अस्तित्व सङ्कटमा परेको जसबहादुरले भन्नुभयो । यस स्थानमा पहिलेको तुलनामा ढेडु–बाँदर जस्ता जङ्गली जनावरको सङ्ख्या पनि वृद्धि भएको छ । तिनले बालीनाली पाक्न दिँदैनन् । उत्पादन नभएपछि बजारबाट किन्नुपर्ने बाध्यता छ । बजारका खाद्य पदार्थले स्वास्थ्यमा पनि असर पर्न थाल्यो,” अर्की स्थानीयवासी कुमारी माझीले भन्नुभयो ।
जागृति आधारभूत विद्यालयकी शिक्षिका शोभा माझी वर्षा हुने र हिमालमा हिउँ पर्ने ‘सिजन’ गडबढ भएकाले स्थानीयको दैनिकी नराम्ररी प्रभावित हुन थालेको बताउनुहुन्छ । पशुचौपायामा ज्वरो, खुर फाट्ने, गिर्खा आउने समस्या बढेपछि दुध उत्पादन घटेको छ । पहिले लामखुट्टे वैशाखदेखि भदौसम्म मात्र देखिन्थे, अहिले त जाडोमा पनि देखिन्छन् । अनि हैजा, झाडाबान्ता, डेङ्गुले बर्सैभरि सताउँछन् ।
रैथाने बिउ किराले खाइदिन थालेपछि परनिर्भरता बढेको स्थानीयवासीको अनुभव छ । “खर्च बढ्दै छ, आम्दानी झन् घट्दै छ,” ६० वर्षीय मिना माझी गुनासो गर्नुहुन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावसँग झेलिरहेका माझीटारका नागरिकले हावापानी सुहाउने र वन्यजन्तुले धेरै क्षति नपु¥याउने खेती गर्न चाहेका छन् तर स्थानीय सरकार तथा सङ्घसंस्था कसैले सघाएका छनैन् । त्यसैले यो ठाउँका लागि अनुकूल हुने गरी अध्ययन गरेर स्थानीय सरकार र प्राविधिकले आफूहरूलाई सहयोग गर्नुपर्ने माग उनीहरूको छ ।
माझीटारका महिलाले जलवायु परिवर्तन र महिला विषयक एक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।