• ७ पुस २०८२, सोमबार

संविधान संशोधन आवश्यक : राप्रपा उपाध्यक्ष प्रधान

blog

गृह जिल्ला पश्चिम नवलपरासीमा पत्रकारसँग कुरा गर्दै राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, पुस ७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष एवम् पूर्व मन्त्री ध्रुवबहादुर प्रधानले वर्तमान सङ्घीय ढाँचा र प्रादेशिक संरचना देशको अर्थतन्त्र र व्यवस्थाका लागि “ठुलो भारी’’ भएको टिप्पणी गर्नुभएको छ । आइतबार आफ्नो गृह जिल्ला पश्चिम नवलपरासीमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेतृत्व परिवर्तन र नयाँ पुस्ताको आवश्यकता
बिगठित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेता प्रधानले वर्तमान नेतृत्वले अब नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । यदि समयमै नेतृत्व परिवर्तन र व्यवस्थामा सुधार नगर्ने हो भने देश थप गहिरो सङ्कटमा फस्ने उहाँको चेतावनी छ ।

राप्रपाका मुख्य एजेन्डा र राजतन्त्रको चर्चा
पार्टीको अडान स्पष्ट पार्दै नेता प्रधानले भन्नुभयो, “देशमा हाम्रो परम्परागत संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण अनिवार्य छ । हामीले हिन्दू राष्ट्रको पुनःस्थापना र राजतन्त्रलाई एक साझा अभिभावकीय संस्थाको रूपमा कायम राख्ने विकल्पका बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।’’

छिमेकी सम्बन्ध र सिमाना व्यवस्थापन
कुटनीतिक सम्बन्धका बारेमा चर्चा गर्दै उहाँले नेपाल र छिमेकी राष्ट्रहरूबिचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । विशेष गरी खुला सिमानाको वैज्ञानिक व्यवस्थापन र छिमेकीसँगको कुटनीतिक सन्तुलन नमिल्दासम्म देशको अवस्थामा ठोस सुधार नआउने उहाँको तर्क थियो ।

जनताको बलिदानको कदर
नेपाली जनताले व्यवस्था परिवर्तनका लागि बगाएको पसिना र दिएको बलिदानको उच्च कदर हुनुपर्ने बताउँदै उहाँले जनताको अपेक्षा अनुसार काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । स्मरण रहोस्, नेता प्रधान २०७९ सालको संघीय निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।