• ७ पुस २०८२, सोमबार

विज्ञान प्रयोगशालाले प्रयोगात्मक सिकाइमा सहजता

blog

कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाका सामग्री । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), पुस ७ गते ।
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहज बनाएको छ । विज्ञान विषयसँग सम्बन्धित पाठ्यवस्तुहरूलाई प्रयोगशालामार्फत अभ्यास गर्न पाउँदा सिकाइ प्रभावकारी बनेको विद्यालयले जनाएको छ ।

विज्ञान प्रयोगशालामा उपलब्ध सामग्रीले विद्यार्थीलाई प्रत्यक्ष अभ्यासमा सहयोग पुगेको प्रधानाध्यापक खम्बाबहादुर शाहीले बताउनुभयो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा पेश नेपाल जुम्लाको साझेदारीमा सञ्चालित शसक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको हो ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई समय तालिका निर्माण गरी नियमित रूपमा प्रयोगात्मक अभ्यास गराइँदै आएको छ । विद्यार्थी धुब्रेसनाथ योगीले प्रयोगशालामा अभ्यास गर्न पाउँदा खुशी लागेको बताउँदै प्रयोगात्मक सिकाइले विज्ञान विषय बुझ्न सहज भएको उल्लेख गर्नुभयो ।

करिब पाँच लाख रुपियाँको लागतमा स्थापना गरिएको विज्ञान प्रयोगशालासँगै विद्यालयमा छापामय कक्षाकोठा र विद्यार्थी बसाइ व्यवस्थापनमा समेत सहयोग गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसाइ व्यवस्थापन र छापामय कक्षाकोठा सञ्चालनपछि विद्यार्थीको उपस्थिति दरमा समेत वृद्धि भएको छ । प्रयोगशालामा उपलब्ध विज्ञान सामग्रीले कक्षा कोठाभन्दा व्यावहारिक अभ्यास गर्न सहयोग पुगेको छ ।