• ७ मंसिर २०८२, आइतबार

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य नीति तयार गर्नुपर्छ : मुख्यमन्त्री यादव

blog

लालबन्दी नगरपालिकालाई सम्मानित गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव। तस्बिर : धर्वेन्द्र झा।

धर्वेन्द्र झा

जनकपुरधाम, मङ्सिर ७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र रुपमा मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ।

प्रदेशको राजधानी जनकपुरधाममा तीन दिनसम्म चलेको आर्थिक वर्ष २०८१/८२मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। 

उहाँले स्वास्थ्य नीति ल्याउने विषयमा चाहिने आवश्यक सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै वार्षिक समीक्षा गोष्ठीमा विभिन्न क्षेत्रवाट प्रस्तुत गरिएका डेटालाई एकीकृत गर्न आग्रह गर्नुभयो। उहाँले जनकपुरधामको प्रादेशिक अस्पतालको अवस्था दयनीय रहेको भन्दै आफूले अस्पताल सुधारका लागि  थालेको प्रयासमा सबैको सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो।

उहाँले तीन दिनको समीक्षा गोष्ठीबाट आएका सुझावले आगामी बजेट निमार्णको समयमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा, मधेश प्रदेशका स्वास्थ्य सचिव डा. ओमप्रसाद अर्यालसहित विभिन्न पालिकाका प्रमुख सहितको सहभागिता रहेको थियो।