काठमाडौँ, चैत ११ गते । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । कुल जनसङ्ख्याको अनुपातमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । अन्य लिङ्गीको सङ्ख्या दुई हजार ९२८ जना रहेका छन् भने कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको छ ।
२०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसङ्ख्या २.२५ रहेकोमा सो दर घटेर २०६८ मा १.३५ र २०७८ सालको जनगणनाका ०.९२ प्रतिशतमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा उल्लेख गरिएको छ । ७७ जिल्लामध्ये औसत जनसङ्ख्या वृद्धिदर भक्तपुरमा ३.३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम रामेछापमा १.६७ प्रतिशत रहेको छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जनसङ्ख्या अध्ययन केन्द्र विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले जनसङ्ख्या वृद्धिदर कम हुनुमा तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन रूपमा भने नेपाललाई ठूलो घाटा हुने बताउनुभयो । उहाँका अनुसार बालबच्चा जन्माउन लायक उमेर समूहका एक दम्पतीबाट अहिले एउटा वा दुईवटा मात्र बच्चा जन्माउने गरेका छन् । त्यस अर्थले पनि अहिले जन्मदरमा कमी आएको हो । सधैँ यो चक्र यही रहँदैन । अबको २० देखि २५ वर्षपछि अहिलेका युवा समूह क्रमिक रूपमा ज्येष्ठ नागरिक हुँदै जान्छन् ।
यही अवस्था सन् १९७० र ८० को दशकमा एसियाका हङ्कङ, मलेसिया र सिङ्गापुरमा थियो । जुन देशलाई एसियन टाइगर भनेर चिनिन्छ । उहाँले भन्नुभयो, “नेपालमा अहिले सन्तान जन्माउने बाहुल्यता भएका कतिपय व्यक्ति विदेशमा छन् । त्यसो हुँदा दर घट्यो । ती धेरै व्यक्ति बेरोजगार छन्, तिनले धेरै बच्चा जन्माउँदा लालनपालन गर्न नसक्ने अवस्था हुन सक्ने चिन्ताले धेरै बच्चा नजन्माएका हुन् ।”
यही स्थिति कायम भए नेपालमा भविष्यमा जनसङ्ख्या कम हुँदा देशलाई चाहिने दक्ष जनशक्तिको अभाव हुनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
बढ्दो एकल परिवार
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा कुल घरपरिवारको सङ्ख्या ६६ लाख ६६ हजार ९३७ रहेकोमा व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार छ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर ४.३७ जना रहेकोमा २०६८ सालको जनगणनामा सो सङ्ख्या ४.८८ प्रतिशत रहेको थियो । अहिले प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ र तराईमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५.९४ प्रतिशत तथा गोरखा र दोलखामा सबैभन्दा कम ३.४९ प्रतिशत रहेका छन् । नतिजाअनुसार जनघनत्व प्रतिवर्गकिलोमिटर १९८ जना रहेको छ । २०६८ सालको जनगणनामा प्रतिवर्गकिलोमिटर १८० थियो । सबैभन्दा धेरै जनघनत्व तराईमा प्रतिवर्गकिलोमिटर ४६० जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना रहेका छन् । सबैभन्दा बढी जनघनत्व काठमाडौँमा प्रतिवर्गकिलोमिटरमा पाँच हजार १६८ र सबैभन्दा कम मनाङमा तीन जना रहेको छ ।
बागमतीमा धेरै, कर्णालीमा थोरै
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा छ । बागमतीमा कुल जनसङ्ख्याको ६१.२ प्रतिशत र सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा १६.९ प्रतिशत रहेको छ । त्यस्तै कोशीमा ४९.६, मधेशमा ६१.१, गण्डकीमा २४.७, लुम्बिनीमा ५१.२ र सुदूरपश्चिममा २६.९ प्रतिशत जनसङ्ख्या रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
करिब २२ लाख विदेशमा
कुल १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन् । उक्त सङ्ख्यामध्ये १७ लाख ९९ हजार ६७५ जना पुरुष र तीन लाख ९० हजार ९१७ जना महिला रहेका छन् । २०६८ सालको जनगणनाअनुसार १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरेका थिए ।