• ५ मंसिर २०८२, शुक्रबार

सडकमा पैदल हिँड्न पनि कठिन

blog

गत वर्ष प्रदेश सरकारले निर्माण गरेर अलपत्र छाडिएको मेलौली नगरपालिका–९, स्थित तीनजोर्ना–हरडाखान–कोल्तडी सडक । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, मङ्सिर ५ गते । गाडी मोटर चलाउन निर्माण भएका ग्रामीण सडकमा मोटर त के पैदल हिँड्नसमेत कठिन हुन थालेपछि स्थानीयवासी वैकल्पिक बाटो हिँड्न थालेका छन् । 

गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ३० लाख रुपियाँ खर्च गरेर निर्माण गरेको मेलौली नगरपालिका –९, स्थित तीनजोर्ना–हरडाखान–कोल्तडी सडक पहिरोमा परिणत भएपछि स्थानीयवासीको हिँड्ने बाटो नहुँदा समस्यामा परेका छन् ।

गाउँमा सडक आएपछि मोटर आउला भन्ने आशामा बसेका स्थानीयवासी सडकले निम्ताएको पहिरोका कारण पीडित बनेको मेलौली नगरपालिका –९, का वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकारको ३० लाख रुपियाँ बजेटमा पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत निर्माण गरेको सडक पूरै पहिरोमा परिणत भएको छ । गाडी मोटर चल्न त परको कुरा पैदल हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयवासी वैकल्पिक बाटो हिँड्न बाध्य छन् ।”

उहाँले प्राविधिकको कमजोरीका कारण सडकमा अनावश्यक मोड राख्दा पहिरोले माथिल्लो मोडको सडक तल्लो मोडमा ल्याउँदा सडक हो कि पहिरो ? चिन्न नसकिने भएकोे बताउनुभयो । 

पहिरोले स्थानीयवासीको मेलघटमा रहेको खेतमा क्षति गर्ने गरेको छ । सो सडकमा चालु आर्थिक वर्षमा थप बजेट नपरेपछि स्थानीयवासी झन् समस्यामा परेका छन् । प्रदेश सरकारले निर्माण गरेको सडक स्थानीय तहको सरकारले सफा नगर्दा गाउँलेलाई हिँड्न अपठ्यारो भएको मेलौली नगरपालिका –९, का स्थानीय धनञ्जय चन्दले   बताउनुभयो । यो वर्ष योनामै नआएको उहाँले गुनासो गर्नुभयो । 

गत आर्थिक वर्षमा जिल्लाका १० वटै पालिकामा २५ देखि ३० लाख रुपियाँसम्मका १०९ वटा ग्रामीण सडक निर्माणका योजना थिए । चालु आर्थिक वर्ष २०८२–८३ मा बैतडीमा ९५ र दार्चुलामा ४० गरी १३५ वटा ग्रामीण सडक निर्माणका लागि ९० करोड रुपियाँ बजेट आएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख इन्जिनियर दीपेन्द्र भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्षका केही सडक योजनामा बजेट आएको छैन । यो वर्ष थप नयाँ सडक निर्माणका लागि टुक्रे योजना आएका छन् ।” 

छैनन् प्राविधिक

बैतडी र दार्चुला जिल्लाका सडक योजना हेर्नेगरी बैतडी सदरमुकाम गोठालापानीमा स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमा दरबन्दीअनुसारका प्राविधिक छैनन् । कार्यालयमा अहिले डिभिजनल इन्जिनियरका रुपमा आफू एक जना मात्र रहेको कार्यालय प्रुमख दीपेन्द्र भट्टले बताउनुभयो । 

चार जना इन्जिनियर र तीन जना सबइन्जिनियरको दरबन्दी भए पनि पदपूर्ति हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई जिल्ला हेर्ने जिम्मेवारी पाएको कार्यालयले १०–१५ लाखको सडक योजना हेर्नुपरेको छ । टुक्रे योजनाका कारण सबै ठाउँका योजनामा नियमित रुपमा प्राविधिक पठाउन सकिने अवस्था छैन । साना योजना स्थानीय तहलाई हस्तान्तरण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छु ।”

मोटर चल्ने सडक धेरै

जिल्लामा स्थानीय तलदेखि प्रदेश र सङ्धीय सरकारका सयौं सडक निर्माण भए पनि मोटर चल्नेभन्दा नचल्ने सडकको सङ्ख्या धेरै छ । जिल्लाको सिगास गाउँपालिकाका –९ वटै वडामा सडक पुगे पनि स्थानीयले अहिलेसम्म बस चढ्न पाएका छैनन् । 

मापदण्डबिना निर्माण भएका सडकमा सामान्य दैनिक उपभोग्य ढुवानी गर्न कठिनाइ हुनेगरेको सिगासका स्थानीयवासी उद्धव धामीले बताउनुभयो । गाणतन्त्रमा पनि सिगासवासीको बस चढ्ने धोको पूरा हुन नसकेको उहाँको गुनासो छ ।