शान्ता अधिकारी
चितवन, चैत १० गते । चितवनको हवाई इतिहास बोकेको मेघौली विमानस्थलको रूप फेरिनेभएको छ । २०१७ मा विदेशी पाहुनालाई लक्षितगरी निर्माण गरिएको मेघौली विमानस्थलको धावनमार्ग सम्याउने र उच्चस्तरीय ग्राभल र कम्पाउण्डको तारबार गरी धावनमार्ग चिटिक्क बनाउन लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जभन्दा लामो इतिहास बोकेको निकुञ्जभित्रको बेलायती नागरिकले सञ्चालन गरेको टाइगरटप्स जङ्गल लजमा पाहुना ल्याउन उक्त विमानस्थलको सुरुआत गरिएको थियो । १० वर्षअघि निकुञ्जभित्र रहेका होटल हटाउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै बेवारिसे अवस्थामा रहेको सो हवाई मैदान गौचरनमा परिणत भएको थियो ।
निकुञ्ज बाहिरका होटल र पर्यावरण क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको चर्को विरोध र दबाबपछि २०६७ देखि निकुञ्ज भित्रका होटल सञ्चालनमा अवरोध भएको थियो । सोही समयदेखि विमानस्थलमा विमान उडान र अवतरण बन्दजस्तै बनेको थियो । जङ्गली जनावरको सुरक्षामा गम्भीर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतले २०६९ मा एक आदेश जारीगरी चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सञ्चालित टाइगर टिप्सलगायतका आठ वटा होटल बन्द गरिदिएपछि विमानस्थल गौचरनमा परिणत भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाका अनुसार ६ महिनाभित्र काम सम्पन्न गर्नेगरी बोलपत्र आह्वान गरिएको छ । झण्डै डेढ करोड रुपियाँ बराबर खर्चमा विमानस्थलको धावनमार्गलाई उच्चस्तरीय ग्रावेल गरिनेछ भने अव्यवस्थित तारबार व्यवस्थित गरिने भएको हो ।
२३ बिघा क्षेत्रफलमा फैलिएको मेघौली विमानस्थल एक किलोमिटर ६५ मिटर कच्ची धावनमार्ग छ । लामो समय विमान अवतरण र उडान नभएका कारण घाँसे मैदान रहेको उक्त धावनमार्ग खाल्डाखुल्डीयुक्त बनेको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार मेघौली क्षेत्रमा ठूला प्रकृतिका होटलको निर्माण र सञ्चालन रहेका कारण उक्त विमानस्थलको आवश्यकता महसुस गर्न थालिएको हो । त्यस बाहेक लामो समयदेखि भरतपुर विमानस्थल विस्तारको विषय उठान भएका कारण पनि वैकल्पिक विमानस्थलको तयारी गर्न आवश्यक रहेको हो ।
मेघौली विमानस्थलस्तर उन्नति गरिएपछि चार्टर उडानका लागि मात्र होइन आवश्यकताअनुसार अन्य उडानका लागि विमानस्थल प्रयोगयोग्य हुने बताउनुभयो । जिल्ला सदरमुकामदेखि २४ किलोमिटर पश्चिममा रहेको उक्त विमानस्थल नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार मेघौली क्षेत्रमा पर्छ । निकुञ्जभित्र रहेका होटलहरु त्यहाँबाट हटाइएको भएपनि पछिल्लो समयमा यो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका होटलहरु निर्माण भएका छन् ।