• २२ मंसिर २०८१, शनिबार

जुर्मुराउँदै रङ्गमञ्च

blog

काठमाडौँ, चैत १० गते । संसारलाई नै हल्लाएको कोभिड–१९ बाट अछुतो रहेको कुनै क्षेत्र थिएन । कोभिडका कारण अधिकांश क्षेत्रको अवस्था उकालोतर्फ धकेलिएको थियो । यसको असरबाट नेपाली रङ्गमञ्च पनि बच्ने कुरै भएन । स्थिति कस्तोसम्म आएको थियो भने रङ्गमञ्चमा आश्रित कतिपय यस क्षेत्रबाट पलायन हुने अवस्था थियो । अहिले समय फेरिएको छ । हिजोका ती तिता अतीतलाई अहिले रङ्गकर्मीले बिर्सिसकेका छन् । 

विगतले उनीहरूलाई धेरै यादगार पाठ सिकाएर गएको छ । कठोर समयमा कसरी उभिने भनेर अभ्यस्त गराएको छ । समय फेरिएको छ । रङ्गमञ्च फेरि जुर्मुराएको अनुभव सुनाउनुहुन्छ रङ्गमञ्चकर्मी पशुपति राई । अहिले रङ्गमञ्चप्रतिको बुझाइमा परिवर्तन आएको छ । रङ्गमञ्चमा दर्शकको सहभागिता बढ्दो छ । अहिले राम्रा–राम्रा नाटक मञ्चन हुन थालेका छन् 

जसले रङ्गकर्मीमा ऊर्जा भर्ने काम भइरहेको पनि देखिन्छ। यस्ता गतिविधिबाट नाटक हेर्ने दर्शक पनि बढ्दै गएका छन्। राई भन्नुहुन्छ, “पहिले–पहिले थोरै दर्शक हुन्थे। कहिलेकाहीँ त सिङ्गो हल रित्तो हुन्थ्यो। अहिले समय बदलिएको छ । दर्शक टिकट नपाएर थिएटरबाट फर्किनुभयो भन्ने पनि सुनिन्छ ।”

वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “अहिले नाटकमा दर्शक घटिरहेका छन् तर नाटकघरहरू थपिँदै गएका छन् । रङ्गमञ्चमा नयाँ जनशक्ति आइरहेका छन् । नाटक गर्ने व्यक्तिको अभाव भएको छैन । नाटकको सङ्ख्या धेरै भएर गुणस्तर खस्किएको हुन सक्छ । सायद स्कुलिङ भएका र नभएका दुवै साथीहरूले लगातार नाटक गर्दा गुणस्तर खस्किने सम्भावना भएको हो कि ?”

कुनै बेला रङ्गमञ्च भन्नासाथ काठमाडौँ केन्द्रित भन्ने बुझाइ थियो तर अहिले अवस्था त्यस्तो छैन । अहिले काठमाडौँ उपत्यकाबाहिर पोखरा, इटहरी, दमक, विराटनगर, कर्णालीसम्म रङ्गकर्मी व्यस्त छन् । रङ्गकर्मले मेचीदेखि महाकालीसम्मलाई जोडेको छ । कति रङ्गकर्मी काठमाडौँबाट आफ्नै ठाउँमा गएर रङ्गमञ्च सञ्चालन गरिरहेका छन् भने कोही विभिन्न सडक नाटक र रङ्गमञ्चका अन्य काममा व्यस्त छन् । यसले उनीहरूमा रङ्गमञ्चमा काम गर्न थप उत्साह जगाएको देखिन्छ ।

परिवर्तन कार्की, हीरा बिजुली नेपाली, सिजन दाहाल, सोनु जयन्ती, कबु नेपाललगायत काठमाडौँबाहिरका नाम चलेका रङ्गकर्मी हुनुहुन्छ, जसले अहिले निरन्तर रूपमा रङ्गमञ्च विस्तार र नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रशिक्षित गरिरहनुभएको छ । रङ्गमञ्चमा काठमाडौँमा बनेका नाटकघर र नाट्य समूहको दबदबाले केही रङ्गकर्मी भने निराश देखिन्छन् । काठमाडौँभित्र होस वा बाहिर, विदेशी नाट्य महोत्सव तथा मेलामा समेत काठमाडौँको रङ्गमञ्च नै हाबी भएकोमा धेरै रङ्गकर्मीको यसमा आक्रोश पनि छ । 

रङ्गमञ्चमा नयाँ आउनेलाई निकै चुनौती रहेको रङ्गकर्मीहरू सुनाउँछन् । कि त आफैँ लगानी गरेर आउनुप¥यो, कि भने चिनजानको हुनुप¥यो उनीहरूको गुनासो छ । काठमाडौँबाहिरको रङ्गमञ्चको मुख्य चुनौती भनेकै नाटकघर, दर्शक र रङ्गकर्मीको अभाव हो । पोखरामा दर्शक र रङ्गकर्मीको निरन्तरता रहे पनि नाटक बनाउने चुनौती रहेको पोखरा थिएटरका अध्यक्ष तथा रङ्गकर्मी परिवर्तन कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले बनाउने पहिला नाटक नै हो, दर्शक त पछि आउँछन् ।” पोखरामा दर्शकको अभाव खासै नभएको कार्कीको भनाइ छ । रङ्गकर्मी प्रवीण खतिवडा अहिले रङ्गमञ्च केही फस्टाएको बताउनुहुन्छ । अझ धेरै सङ्ख्यात्मक वृद्धि भयो भने फाइदा हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्च कवि, सङ्गीतकार, चलचित्रकर्मी, नाट्यकर्मी, साहित्यकारहरूको थलो थियो तर पछिल्लो समय त्यस्तो ‘हब’का रूपमा विकास हुन सकेको छैन । अब त्यसतर्फ ध्यान पुग्नुपर्छ ।”

रङ्गमञ्चका लागि नेपाली परिवेशका विषय समेटिएका नाटक नै सिर्जना हुनु राम्रो हुने रङ्गकर्मीहरू सुनाउँछन्। दर्शकले अहिले थिएटरमा महिनैपिच्छे नयाँ–नयाँ स्वादका नाटक हेर्न पाइरहेका छन्। कुनै समय नेपाली रङ्गमञ्च उर्दू, हिन्दी तथा अन्य विदेशी नाटकहरूको अनुवादमै भर पर्नुपर्ने अवस्था थियो। अहिले भने रङ्गमञ्चमा प्रदर्शन गर्नका लागि आफ्नै भाषाका मौलिक नाटक सिर्जना भइरहेका छन् ।