धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश सरकार सम्भावित विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारीको पछिल्लो चेतावनी र पूर्वाअनुमानअनुसार मधेशका अधिकांश जिल्लामा कात्तिक १३ गते बिहीबारदेखि कात्तिक १५ गते शनिबारसम्म मधेश प्रदेशको मौसम प्रभावित भई मध्यम तथा भारी वर्षा हुने र त्यसका कारण बाढी तथा डुवानको उच्च जोखिम रहेको भनेपछि मुख्यमन्त्री सोनलले बुधबार प्रदेश विपद व्यवस्थापन समितिको बैठक बसाएर तयारीको अवस्थाबारेमा जानकारी लिएपश्चात् प्रदेशवासीलाई अपिल गर्दै सम्भावित प्राकृतिक विपत्तिको गम्भीरतालाई आत्मसात गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
उहाँले मधेश प्रदेशको सप्तकोशी, बागमती, कमला, रातो, लखनदैइ र लालबकैया लगायतका नदीहरुको जलस्तर खतराको तहभन्दामाथि पुग्ने सम्भावना देखिएको भन्दै नदी किनार र डुवानको जोखिममा रहेका नागरिकहरुलाई नजिककै उच्च स्थानमा सर्न अपिल गर्नुभएको छ ।
मुख्यमन्त्री सोनलले आफनो जिवन र परिवारलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो प्राथमिकता भएको भन्दै प्रदेशवासीलाई नदी, खोला र नहरनजिक आवतजावत नगर्नका लागि आग्रह गर्नुभएको छ । उहाँले मधेश प्रदेश सरकार यो विपत्तिको सामना गर्न विभिन्न कदम चालिसकेको र चौविसौं घण्टा निगरानीमा राखेको बताउनुभयो । उहाँले सम्भावित जोखिम क्षेत्रहरुमा नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको र उद्धारका लागि आवश्यक पर्ने डुंगा, लाइफ जाइकेट र अन्य सामग्रीको भण्डारण सुनिश्चित गरिएको बताउनुभयो ।
उहाँले यस सम्भावित विपत्तिको विषयमा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय सरकार र स्थानीय तहहरुसँग निरन्तर समन्वय गरिरहेको बताउनुभयो । मुख्यमन्त्री सोनारले यस सम्भावित प्रकोपको घडीमा हामी सबै एकबद्ध भएर काम गर्नुपर्ने भन्दै हामी सबैको सहयोगले ठुलो धनजनको क्षति टार्न सकिने भएकाले युवा वर्ग, सामाजिक संघ संस्था, नागरिक समाजको साथै हामी सबै जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा रहेर यस सम्भाति प्रकोपलाई पराजित गर्नुपर्ने आग्रह गर्नुभएको छ ।