• १३ कात्तिक २०८२, बिहिबार

वर्षाले धान भिजेपछि किसान चिन्तित, धान खेतमै उम्रिने डर

blog

लगातार परेको वर्षाका कारण काटिएको धान खेतमा भिज्दै । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, कात्तिक १३ गते । काटेर  ठिक्क पारेको धान स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि दाङका किसानहरू चिन्तित बनेका छन्। सोमबार रातिदेखि आएको झरी बुधबार दिउँसो घाम लागेपछि काटेको धान स्याहार गर्न किसानहरू जुटेका थिए । बिहीवार बिहानदेखि पुनः बर्षाको झरी लागेपछि काटेको धान खेतमै उम्रिने डरले किसानहरू थप पीडामा परेका हुन् ।  

दंगीशरण –३ हेकुलीका किसान भीमबहादुर चौधरीले धान काटी सकेर थ्रेसरमा हाल्ने तयारी गर्दै खेतबाट खल्यानमा राखिसक्नुभएको थियो । सोमबार रातिदेखि लगातार परेको वर्षाले उहाँले थ्रेसर लगाउन पाउनु भएन । बिहीबार रातिदेखि वर्षा परेपछि न राति सुत्न सकें, न धान घरमा ल्याउन सकें” चौधरीले भन्नुभयो, “आज बिहानैदेखि पानी पर्न थालेको छ, अब सबै धान खेतममै उम्रिने भयो ।” 

उहाँका अनुसार हेकुलीका अधिकांश किसानको धान खेतमै डुब्ने अवस्थामा पुगेको छ। “यहाँ करिब चारसय विघा जमिनमा धानखेती हुन्छ” उहाँले भन्नुभयो, “केही किसानले धान घरमा भित्र्याए पनि धेरैको धान अझै खेतमै छ। मैले १० कठ्ठा खेतमा धान लगाएको छु, यहीबाट पाँच जनाको परिवार पाल्छु, तर अहिले पाँच कठ्ठाको धान खेतमै डुबिरहेको छ।”

सोही गाउँका किसान इटलाल चौधरीले पनि उस्तै समस्या सुनाउनुभयो। “धान काटेर थ्रेसर लगाउने तयारीमा थियौं, तर भित्र्याउन नपाउँदै हिउँदे वर्षाले सबै डुबाउने होकि भन्ने डर लागेको छ” उहाँले भन्नुभयो।

कृषि ज्ञान केन्द्र घोराहीका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार दाङमा करिब २० प्रतिशत किसानले अझै धान भित्र्याउन बाँकी छ।

“देउखरीलगायतका क्षेत्रमा करिब ८० प्रतिशत किसानले समयमै धान भित्र्याएका छन्,” उहाँले भन्नुभयो, “तुलसीपुर, दंगीशरण, बबई र घोराहीका केही क्षेत्रमा वर्षाले २० प्रतिशत किसानको धानखेतमा असर गरेको छ ।”

उहाँका अनुसार काटिसकेको धानमा लगातार तीन दिनसम्म पानी परेमा करिब ८० प्रतिशतसम्म क्षति हुनसक्ने अनुमान गरिएको छ। “यदि शुक्रबारसम्म पानी रोकिएर दिउँसोसम्म घाम लाग्यो भने त्यति ठूलो असर नगर्ला” लामिछानेले भन्नुभयो, “अझै वर्षा जारी रह्यो भने किसानहरूलाई ठूलो आर्थिक क्षति पुग्ने निश्चित छ।” दाङमा यस वर्ष करिब ३५० हजार हेक्टर जमिनमा धान रोपाइँ गरिएको थियो।