• १२ साउन २०८१, शनिबार

द्वन्द्व र मनोरञ्जनको सँगालो ‘कब्जा’

blog

काठमाडौँ, चैत ९ गते । अपराधीका समूहको कथामा आधारित चलचित्र ‘कब्जा’ द्वन्द्व र ‘ड्रामा’ चलचित्र मन पराउने दर्शकका लागि एक मनोरञ्जक चलचित्र साबित हुन सक्छ । यस चलचित्रबाट निर्माता आनन्द पण्डितले ‘डेब्यु’ गर्नुभएको छ । चलचित्रमा उपेन्द्र, किच्चा सुदीप, शिव राजकुमार पहिलो पटक एकसाथ ठूलो पर्दामा सँगै देखिनुभएको छ । कन्नड स्टार उपेन्द्रको यो पहिलो चलचित्र हो, जुन तमिल, तेलगु र मलायालमका साथै हिन्दीमा पनि प्रदर्शन भइसकेको छ । चलचित्रको कथा चालीसको दशकबाट सुरु भएर करिब चार दशकको लामो यात्रा तय गर्छ । चलचित्रमा उपेन्द्र अन्डरवल्र्ड डन अर्केश्वरको भूमिकामा देखिनुभएको छ । एक इमानदार वायुसेना अधिकृतबाट परिस्थितिवश अन्डरवल्र्ड डन बन्ने अर्केश्वरको जीवनलाई पर्दामा उतारिएको छ । त्यस्तै अर्कोतर्फ बेलायती सरकारले अर्केश्वरलाई मार्ने जिम्मा प्रहरी अधिकृत किच्चा सुदीपलाई दिएको हुन्छ ।

चलचित्रको कथा स्वतन्त्रता सेनानी अमरेश्वरको वरिपरि घुमेको छ । जसलाई अङ्ग्रेजहरूले मार्छन् । अमरेश्वरका छोरा अर्केश्वर सन् १९६०–१९८४ को अवधिमा भारतको अन्डरवल्र्ड डन बन्छन् । अर्केश्वरको नामले जताततै सनसनी मच्चाएपछि बेलायती सरकारले अर्केश्वरलाई मार्न प्रहरी अधिकृत पठाउँछ । के प्रहरीले अर्केश्वरलाई पक्रन सक्छ ? के अन्डरवल्र्डबाट सकिने भो त अर्केश्वरको नाम ? यी सबै प्रश्नको जावफ चलचित्रभित्र पाइन्छ । चलचित्रको अन्त्यमा शिवराज कुमारको प्रवेशले कथामा नयाँ तरङ्ग ल्याउँछ । त्यसपछिको कथाले कुन दिशा लिन्छ भनेर हामीले अर्को भाग पर्खनुपर्ने हुन्छ । 

अन्डरवल्र्ड डनका रूपमा उपेन्द्रले उत्कृष्ट काम गर्नुभएको छ । उहाँको मनोवृत्तिले चलचित्रलाई जीवन्त बनाउने काम गरेको छ । प्रहरी अधिकृतको भूमिकामा किच्चा सुदीपले आफ्नो चरित्रलाई न्याय गरेको देखिन्छ । चलचित्रको ‘नमामी नमामी’ गीत आकर्षक छ । गीतको छायाङ्कन पनि सुन्दर तरिकाले गरिएको छ । चलचित्रमा धेरै खलनायक छन्, त्यसैले उपेन्द्रले अभिनय गर्ने अवसर खासै पाएको देखिँदैन । मधुमतीको भूमिकामा श्रेया शरणले आफ्नो नृत्य कौशल र केही भावनात्मक दृश्य दिएर दर्शकलाई मोहित बनाउने प्रयास गर्नुभएको छ । मुरली शर्मा, सुनील पुराणिक, अनुपजस्ता कलाकारको काम प्रशंसनीय छ । आर चन्द्रु सधैँ आफ्नो विशेष निर्देशनका लागि परिचित हुनुहुन्छ । यस पटक पनि अन्य चलचित्रमा जस्तै उहाँले आफ्नो उत्कृष्ट काम देखाउनुभएको छ । उहाँले पूरै चलचित्रलाई सही ढङ्गले पर्दामा उतार्नुभएको छ । चलचित्रको पहिलो हाफमा कथा स्थापित भएको छ भने दोस्रो हाफमा कथा आफ्नो वास्तविक रङमा आउँछ ।