• ७ वैशाख २०८१, शुक्रबार

नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बधाई

blog

नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बधाई ज्ञापनपछि।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ८ गते। ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ। 

सदरमुकाम फुङ्लिङमा कार्यक्रम आयोजना गरी नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत चार विद्यार्थी सङ्गठनले नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो। 

कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको विद्यार्थी सङ्गठनले जनाएका छन्। 

पाथीभरा बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा निर्वाचित अर्जुन खिम्दिङ, सचिवमा निर्वाचित मोहन राई, कोषाध्यक्ष सुशीला शेर्पा र नवनिर्वाचित सदस्यसहित कार्यसमितिलाई प्रदेशसभा सदस्य हाङ्गामलगायत विभिन्न स्थानीय तहका पदाधिकारी र विद्यार्थी नेतृत्वहरुले बधाई तथा शुभकामना दिनुभएको थियो। 

यस्तै नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुका साथै चार विद्यार्थी सङ्गठनको गठबन्धनलाई मत दिएर विजयी गराउने सबै विद्यार्थी मतदातालाई धन्यवादसमेत दिएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिव प्रजिन हाङ्बाङले बताउनुभयो। 

चार विद्यार्थी सङ्गठनको जिल्ला समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी स्ववियु कार्यसमितिलाई बधाई तथा शुभकामना र मतदातालाई धन्यवाद ज्ञापन गरिएको हाङ्बाङले जानकारी दिनुभयो। 

जिल्लाको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल क्रान्तिकारी, सङ्घीय विद्यार्थी युनियन र अनेरास्ववियुको गठबन्धन (प्यानल) निर्वाचित भएको थियो। एमालेसम्वद्ध अनेरास्ववियु र जसपासम्वद्ध समाजवादी विद्यार्थी युनियनको गठबन्धनलाई पराजित गर्दै चार विद्यार्थी सङ्गठनको संयुक्त प्यानल निर्वाचित भएको हो।