अर्जुन काफ्ले
स्याङ्जा, चैत ५ गते । गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।
यहाँबाट देखिने धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्णाका हिमशृङ्खलाहरुले सबैको मन लोभ्याउँछ । सल्लाका फेदमा बनाइएको बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान आर्कषक देखिन्छ ।
वि.सं २०४५ साल अगाडि गौचरन रहेको सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेकाे सुनपोखरी डाँडाका संरक्षण संयोजक दानबहादुर थापाले बताउनुभयो ।
२०५० सालसम्म वृक्षरोपण गरेर हरियाली बनाइएको डाँडा विस्तारै पिकनिक स्पटको रुपमा परिणत भएकाे हो ।
यहाँका भौतिक संरचनाहरु केहीमा स्थानीयले श्रमदान गरेका छन् भने तत्कालीन वन तथा भूसंरक्षण कार्यालयले पनि सहयोग गरेको थियो ।
सङ्घीय संचारना प्रणाली लागु भएपछि गण्डकी प्रदेशबाट १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा ती संचरनाहरु निर्माण गरिएको हो ।
पछिल्लो समय गाउँका युवा विदेश पलायन हुने तथा बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरुलाई प्रचारमा ल्याउन नसकिएको स्थानीय युवा उमेश दर्लामी बताउनुहुन्छ ।
डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरु गरी सात वटा मन्दिरमा चण्डी पूर्णिमाका दिन एकैपटक पूजा गरिने ऐतिहासिक महत्व रहेको छ ।
पहिले सुँगुर तथा बँदेलहरु पाइने पाइन्थे र सुँगुर तथा बँदेलले उधिनेर खाल्टो बनेको र खाल्टोमा पानी जम्मा भई पोखरी बनेपछि सुनपोखरी नामकरण भएको मानिन्छ ।
सुनपोखरी डाँडामा विभिन्न आमा समूह, क्लबहरु, विद्यालयहरु पिकनिकका लागी जाने गरे पनि उचित व्यवस्थापन भने हुन नसकेको दर्लामीले बताउनुभयो ।
पिकनिकका लागी जानेहरुलाई पिउने पानी, दाउरा, भाडाकुँडा, विजुलीको व्यवस्थापन गरिए पनि दीगो व्यवस्थापन हुन सकेको छैन । छेउमै रहेको ओढारमा गणेश आकृत्तिको चट्टान मा स्थानीयले पुजा अर्चना गरिने भए पनि ओढारसम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको हो ।
मगर संस्कृतिको समेत जर्गेना गर्दैै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाइ छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने देखिएको छ ।