• १३ वैशाख २०८१, बिहिबार
blog

काठमाडौँ, चैत ५ गते । चलचित्र ‘द स्पोन्सर’को कथा सप्तकोशी किनारमा बस्ने तीन जनाको परिवार एउटा सानो झुपडीबाट सुरु हुन्छ । एउटा विपन्न समुदाय जोसँग बस्ने छानो र गरिखाने मानो छैन । त्यो समुदायको गाँसबास भनेकै दैनिक माछा मारेर गुजारा चलाउने हो । न उनीहरूसँग सपना छ, न आकाङ्क्षा नै । माछा मा-यो, हाटमा लगेर बेच्यो र बेलुका लोकल रक्सी खाएर अर्धबोहोसीमा रात कटायो । जब गैरसरकारी संस्थामार्फत त्यो झुपडीमा बस्ने एउटी सोझी र सरल स्वभावकी बालिका कौशिका (ग्रिष्मा नेपाल)का लागि ‘द स्पोन्सर’ आउँछ, त्यसपछि उनीहरूभित्र सपना र आकाङ्क्षा चुलिन थाल्छ । आर्थिकभार केही नबोकी भौतिक सहयोगमा अमेरिका जान पाइने कुराले ठूलै फड्को मार्छ । गरिबीबाट मुक्त गराउने सपना देखाएको गैरसरकारी कार्यक्रमले अन्त्यमा कौशिकाभित्र के कस्तो भुँमरी ल्याइदिन्छ भन्ने कुराको निकर्योल हो ‘स्पोन्सर’ ।

नौ वर्षकी कौशिकी एक टुहुरी हुन् । उनका बुवाआमालाई सप्तकोशी नदीले बगाएर लगेको हुन्छ । गरिबीमा पिसिएकी उनी आफ्नो काका–काकी (रामभजन कामत–रेखा कर्ण) दुवैबाट प्रताडित छिन् । यस्तैमा गरिबको ‘संरक्षण र सहयोग’ गर्न त्यहाँ एक गैरसरकारी संस्था पुग्छ । त्यही कार्यक्रमअन्र्तगत ‘स्पोन्सर’ बनेर पुगेका एक अमेरिकी नागरिकले कौशिकालाई सहयोग गर्ने र अमेरिका लिएर जाने वाचा गर्छन् । यसमा गैरसरकारी संस्थाबाट कौशिकालाई उनको गाउँ गएर भेट्ने र अमेरिकाको नागरिकको सन्देश दिने हुलाकीको काम चलचित्रमा विकास (प्रवीण खतिवडा)ले गर्ने गर्छन् । ती अमेरिकी नागरिकले विकासको हातमा कौशिकाका लागि सधैँजसो पैसा, खेलौना एवं उपहार पठाइदिने गर्छन् । यसले गरिब र आफ्नो काकाबाट प्रताडि कौशिकालाई केही मात्रामा भए पनि मनभित्र खुसीको लहर जागेर आउँछ । गरिबीको जीवन बिताइरहेकी कौशिकीको जीवन परिवर्तनको बाटोतिर लागिसकेको छ । उनी कोशी नदीभन्दा लामो एवं अनन्त सपनामा डुब्न थाल्छिन् । उनी कहिले हुलाकी आउँला र अमेरिकी नागरिकको सन्देश सुन्न पाइएला भनेर बस्ने गछिन् ।  

उनलाई आफ्नो स्पोन्सरप्रति ठूलै भरोसा र आकाङ्क्षा छ तर एक दिन उनको यी सबै सपनाको अवसान हुन्छ र कौशिकालाई उनको सपनाको अवसान भएको कुरा कसरी सुनाउने भनेर हुलाकी नै दोधारमा पर्छन् । कौशिकाको सपनाको अवसानको कथा पनि हो चलचित्र ‘द स्पोन्सर’ । उनको सपनाको कसरी अवसान हुन्छ भन्ने कुराभित्र नै चलचित्रको कथा बुनिएको छ । चलचित्र विपन्न बालिकाको सपनाको हो । टुहुरी बालिकाले पाएको अप्रत्यशित अवसर, त्यसले उनमा ल्याएको भावनात्मक उथलपुथल नै चलचित्र ‘द स्पोन्सर’को मूलकथा हो । निर्देशक प्रणय लिम्बूले चलचित्रमा कौशिका गरिबीको कथा सँगसँगै विकास र जस्मिनको घरगृहस्थीको कथालाई पनि समेटेका छन् । गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीको काम प्रायः बाहिरी जिल्लामा नै हुन्छ र यसले उनको घरगृहस्थीमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा निर्देशक लिम्बूले चलचित्रमा उजागर गर्न खोजेका छन् । 

कौशिकाको भूमिकामा देखिएकी ग्रिष्मा नेपाल चलचित्रमा अभिनय गर्ने समय पाँच कक्षामा अध्ययनरत् थिइन् । चलचित्रमा उनको अभिनय प्रशंसायोग्य छ । पूरै चलचित्र उनी वरपर नै घुमेको छ, हुलाकीको भूमिकामा देखिएका प्रवीण खतिवडालाई गैरसरकारी संस्थाको कर्मचारीको भूमिका सुहाएको छ । त्यस्तै कलाकारहरू एलिना श्रेष्ठ, कामेश्वर चौराशिया, रमेशरञ्जन झा, रामभजन कामत, रेखा कर्णको अभिनयलाई पनि हामीले बिर्सन हुन्न ।