• ७ वैशाख २०८१, शुक्रबार

'सकारात्मक परिवर्तनका लागि कलाकार सङ्घमा मेरो उम्मेदवारी'

blog

अभिनेत्री रेजिना उप्रेती ।

काठमाडौं, फागुन ३० गते । अभिनेत्री रेजिना उप्रेतीले चलचित्र कलाकार सङ्घको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी चैत ४ गते काठमाडौंमा कलाकार सङ्घको महाधिवेशन हुँदैछ ।

विगत २४ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहनुभएकी रेजिना आठ वर्षदेखि कलाकार सङ्घको कार्यकारी समितिमा हुनुहुन्छ । उहाँ हाल कलाकार सङ्घको वरिष्ठ उपाध्यक्षका तीनवर्षे कार्यकाल पूरा गर्नुभएको छ ।

“कलाकार सङ्घको स्थापना नै कलाकारहरुको हक र हितका लागि भएको हो त्यसैले हामी सबै कलाकारको हकहितको विषयमा नै मैले पनि काम गर्नेछु," उप्रेती भन्नुहुन्छ, "कलाक्षेत्रमा परिवर्तन गर्नुपर्ने धेरै विषय छन्, त्यसैको लागि हो मेरो उम्मेदवारी ।” 

जनचेतनामुलक टेलिसिरियल ‘चेतना’ बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री उप्रेतीले आजसम्म ७० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

चलचित्र बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथलगायत अन्य चलचित्रमा उहाँको अभिनय देख्न सकिन्छ । उहाँले कलाकार सङ्घमा आफ्नो उम्मेदवारी केका लागि भन्ने प्रश्नमा आफूले कार्यविधि तयार गरि घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

“कलाकार सङ्घमा महिला अध्यक्ष होस् वा पुरुष यो पदमा पुगेर महिला मात्रै नभएर सम्पूर्ण कलाकारहरुको हकहित, व्यक्तित्व विकास, कलाकारहरुको आर्थिक अवस्थालाई ध्यानमा राखेर गरिने मद्दतलाई प्राथमिकता दिने हो”, उहाँ भन्नुहुन्छ, “कलाकार विरामी हुँदा, सुटिङको समयमा केही दुर्घटना भएमा आर्थिक अवस्थाकै कारण औषधि उपचार गर्न नसकेको अवस्था आउन सक्छ जसका लागि कलाकार सङ्घले खर्चमा मद्दत गर्दै आएको छ ।” 

यस्तै, अभिनेत्री उप्रेतीसँगै कलाकार मोहन निरौलाले पनि अध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, उपाध्यक्षमा ७ जना र महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा कविता गेलाल, शिवहरि नेपाल 'वैरागी', धनबहादुर बमजन, सरिता गिरी, पवनप्रसाद खतिवडा 'बाबा', तेजकुमारी खतिवडा तेजुला र विष्णुप्रसाद रिजाल हुनुहुन्छ भने महासचिवमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सबिन श्रेष्ठ, पनाह अधिकारी, उत्तम केसी हुनुहुन्छ ।

यसबाहेक, सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापा गरी दुई जना, कोषाध्यक्षमा सुनिल कटुवाल, विनोदकुमार भट्टराई र सहकोषध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । सदस्य पदमा २६ जनाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।