• १३ साउन २०८१, आइतबार

म मन्त्री बन्दिनँ : महामन्त्री थापा

blog

आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन २८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ ।

आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताउनु भयो ।

महामन्त्री थापाले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने जानकारी दिनुभयो । उहाँले सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जाने बताउनुभयो ।

‘‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरू मैले नेपाली कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरू गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो । म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जान्छ ।’’

महामन्त्री थापाले राजनीतिक दलहरू खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो । व्यक्तिकै कुरा गर्ने हो भनेपनि आखिर नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री हुने हो । त्यसमा पनि अहिले नयाँ स्वाद आइहाल्छ भनेर अनुमान लगाउने कुरा पनि भएन । त्यसैले नागरिकलाई अहिले भएको राजनीतिक घटनाक्रमको विकासले कति धेरैलाई छुन सकेका छौँ भन्ने यो प्रश्न हामीले सोच्नुपर्छ ।’’

महामन्त्री थापाले सरकारसँग पाँच वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने बताउनुभयो ।