• १३ साउन २०८१, आइतबार

‘निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ’

छलछामका दिन गए, काम नगर्ने व्यवसायीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौं, फागुन २८ गते। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ। 

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। 

उहाँले निर्माण व्यवसायीले सम्झौता अनुरूपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो। उहाँले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताउनु भयो। 

मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का रद्द गर्न सक्नेतर्फ पनि सचेत गराउनुभयो। उहाँले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीले पनि जिम्मा लिएको काम सम्झौता अनुरूप समयमै पूरा गर्ने सङ्कल्प गर्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘मलाई त अहिले निन्द्रा लाग्दैन। राज्य, सरकारले जिम्मेवारीबोध गरेर विलम्ब नगरीकन नियमसंगत हुने काम छिटो छिटो गरिदिनुपुर्‍यो नि ! त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ। तर यति कुरा चाहिँ तपाईंहरुसँग भन्नै पर्छ राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्सानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ। आवश्यक कारबाहीको प्रक्रियामा जानेछु। ठेक्का रद्द गर्नु बहादुरी होइन। मलाई थाहा छ। ठेक्का टर्मिनेट गर्नु रहर होइन। त्यो पनि थाहा छ। छलछाम गर्न सकिन्छ भन्ने दिन चाहिँ गए। जसरी मलाई निद्रा लाग्दैन, तपाईँहरूलाई पनि निन्द्रा नलागोस्  । जनता, राष्ट्रलाई यस्तो हालतमा पुर्‍याउन म पनि जिम्मेवार छु भन्ने तपाईंहरुलाई पिरलो होस्। तब पो मिलेर गर्न सकिन्छ।’’ 

उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताउनुभयो।

उहाँले व्यवसायीहरूसँग मन्त्रालयमा सामूहिक रूपमा मात्रै भेट्ने गरेको स्पष्ट पार्नुभयो। मन्त्री र निर्माण व्यवसायी मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उहाँले बताउनुभयो। मन्त्री श्रेष्ठले आफूले कुनै पनि निर्माण व्यवसायी तथा पुँजीपतिसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च समेत नलिएको बताउनुभयो।