शेरबहादर सार्की
बाजुरा , फागुन २८ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाले दादुरा खोप सञ्चालन कार्यक्रम सुरु गरेको छ । बूढीगङ्गा नगरपालिकाका केही वडाका बालबालिकामा दादुरा पुष्टि भएसँगै खोप सञ्चालन कार्यक्रम सुरु गरिएको हो ।
बूढीगङ्गा नगरपालिकाका वडा नं १, ८ र ९ का सात जना बालबालिकाहरुमा दादुरा पुष्टि भएपछि दादुराविरुद्धकाे खोप कार्यक्रम सञ्चालन गरिएको बूढीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दादुरा पुष्टि भएसँगै शाखाले नगरपालिकाका दश वटै वडामा नौ महिनादेखि पन्ध्र वर्षमुनlका बालबालिकाहरुको तथ्याङ्क सङ्कलन सुरु गरिएको थियो । बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखाका हेल्थअसिस्टेन्ट राजेन्द्र बुढाले, तथ्याङ्क सङ्कलन गरिएका पाँच हजार छ सय ९९ बालबालिकाहरुमध्ये तीन हजार सात सय १७ जना बालिकालाई अहिले दादुराकाे खोप लगाइसकेको बताउनुभयो ।
उहाँले वडा नं १ का ५६८ जनामध्ये ५६५, वडा नं २ का ५४० जनामध्ये ४८७, वडा नं ३ का ६२० जनामध्ये ५४५, वडा नं ४ का ५१३ जनामध्ये ३३९, वडा नं ५ का ३५६ जनामध्ये १५३, वडा नं ६ का ५८० जनामध्ये ३६०, वडा ७ का ७३४ जनामध्ये १२०, वडा नं ८ का ३०८ जनामध्ये ३०० वडा, नं १० का ८९० जनामध्ये ८४८ जना गरी तीन हजार ७१७ जना बालबालिकालाई खोप लगाइसकेको छ भने वडा नं ९ का ५९० जना बालबालिकाकाे पनि आज खोप लगाउने तयारी रहेको बताउनुभयो ।
बाँकी रहेका एक हजार ९८२ जनालाई दुइ दिनभित्रै खोप लगाइसक्ने कार्ययक्रम रहेको बुढाले बताउनुभयो ।
जन्मेको तीन महिनादेखि १५ महिनासम्म दादुरा खोप लगाउनुपर्ने हो तर गाउँका केही बालबालिकाले खोप नलगाएको र अहिले तीनै बालबालिकामा दादुरा देखिएको छ। दादुरा पुष्टि भएका बालबालिका आमा बुवासँगै कहिले भारतमा जाने र कहिले गाउँमा आउने गरेकोले उनीहरुको खोप छुटेको स्वास्थ्यकर्मी बताउनुहुन्छ ।
दादुराका पुष्टि भएकाहरु बूढीगङ्गाका नगरपालिका ७ जनामध्ये एक जनाले पहिला दादुरा खोप लगाएको र अन्य ६ जनाले खोप नलगाएको असिस्टेन्ट बुढाले बताउनुभयो।अहिले खोप लगाएसँगै बूढीगङ्गाका ७ जनालाई निको भइसकेको बूढीगङ्गा नगरपालिकाका हेल्थ अष्टिटेन्ट बुढाले बताउनुभयो ।
दादुराको लक्षण चिन्ह भएका केही बालबालिकाहरु स्वास्थ्य संस्थामा औषधि उपचार गर्न आउने भए पनि अहिलेसम्म मानवीय क्षति नभएको बूढीगङ्गाका नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताउनुभयो ।
बिरामी भएकाहरुको स्वाब सङ्कलन गरी काठमाडौं टेकुमा जाँचपछि दादुरा पुष्टि भएको हो । यस्तै, खोप सञ्चानल गरेपछि सामान्य स्थितिमा रहेको शाहले बताउनुभयो ।