• १४ वैशाख २०८१, शुक्रबार

उत्साह र उमङ्गको पर्व होली

blog

काठमाडौँ, फागुन २२ गते । रङहरूको पर्व होली आज धूमधामका साथ मनाइँदै छ । यो पर्वले हाम्रा  कलाकारहरूलाई नछुने कुरै भएन । प्रायः कलाकारले होलीलाई भेटघाट, रमाइलो र थकान मेटाउने बहानाका रूपमा लिने गर्नुभएको छ । होलीको दिन विभिन्न मिडिया हाउसमा हुने होली कार्यक्रमले कलाकारलाई व्यस्त त बनाउँछ नै साथै साथीभाइबीच रङ छ्यापाछ्याप गर्न रुचाउने धेरैजसो कलाकार लोला हानेको भने त्यति मन पराउनु हुन्न । 

‘होली’ले गर्मी लागेको सङ्केत गराउने बताउनुहुन्छ हास्य कलाकार जितु नेपाल । पानी तथा रङको प्रयोग गरेर होली खेल्दा एकआपसमा भाइचारा आदानप्रदान हुने उहाँको भनाइ छ । होली एकदमै रमाइलो पर्व हो । त्यसैले यसलाई सभ्य तरिकारले मनाउनुपर्छ । होलीमा अनुहार होइन मन रङ्ग्याउनुपर्छ । “बाल्यकालमा होलीमा खुब लोला हानाहान गरियो त्यसको आफ्नै रौनक थियो । अहिले भने परिवार तथा छिमेकीसँग सभ्य तरिकाले होली खेल्दै छु,” कलाकार नेपालले भन्नुभयो । 

अभिनेत्री रेखा थापा आफूलाई सबैभन्दा मनपर्ने चाड होली भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “होली आएपछि मनमा एक प्रकारको उमङ्ग जागेर आउँछ । यो बेलाको मौसम पनि अति नै रोमान्टिक हुन्छ । बाल्यकालमा विराटनगरमा खेलेको होली अहिले धेरै मिस हुने उहाँले बताउनुभयो । त्यहाँको जस्तो होली अब कहिले खेल्ने होला । रङहरूको रमाइलो पर्व होली विभिन्न ठाउँ र समुदायमा फरक–फरक किसिमले मनाइन्छ । होलीको राम्रा पक्षहरू धेरै भए पनि जबरजस्ती लोला हान्ने, रङ दल्नेजस्ता क्रियाकलापले यो पर्वलाई विकृत बनाउँदै लगेको थियो तर केही वर्षदेखि आफ्नो काममा हिँडेका, कामकाजी मानिसलाई जबरजस्ती लोला हान्ने, रङ दलिदिने, फोहोर पानी छ्याप्नेजस्ता घटनामा कमी आएको धेरैले महसुस गरेका छन् । यो चाड सभ्य तरिकाले मनाउने पनि उत्तिकै छन् ।

‘होली’ रङहरूको पर्व भएको हुनाले होली आउँदै छ भन्नेबित्तिकै एक प्रकारको राम्रो अनुभूति लाग्ने नायिका बेनिसा हमाल बताउनुहुन्छ । होली भन्नेबित्तिकै बाल्यकालको होली याद आउँछ, उहाँले भन्नुभयो  । बाल्यकालको होली एकदमै सभ्य र शान्त हुन्थ्यो । होलीको दिन आमाले बिहानै उठेर सबैलाई रातो टीका लगाइदिनु हुन्थ्यो । वरपरका छिमेकीलाई पनि रातो अबिर लगाइदिएर होलीको शुभकामना दिनु हुन्थ्यो । साथीभाइसँग मिलेर होली खेल्न रमाइलो लाग्ने हमालको भनाइ छ । यो वर्षको चलचित्र छक्का पञ्जा–४ को प्रचारमा नै बित्ने उहाँले बताउनुभयो ।  

धर्म र सत्यको जितमा उत्सवका रूपमा मनाइने रङ्गीन चाड होली यस पटक गाउँका साथीभाइसँग मनाउने कलाकार कमलमणि नेपालको सुरसार छ । गाउँमा होली नमनाएको करिब १५–१६ वर्ष भयो, उहाँले भन्नुभयो । मोरङको बाहुनीमा होलैया थान भन्ने ठाउँमा मेला लाग्छ, त्यो मेलामा अनेकन भाङका परिकार बन्छन्, यस पटक भाङको कुल्फी खाने विचारमा छु, भन्दै हुनुहुन्थ्यो कलाकार नेपाल ।

चलचित्र ‘छक्का पञ्जा–४’ प्रदर्शनमा आएको छ, मेरो होली यस पटक सिनेमा हलहरू धाउँदै बित्नेछ भन्दै हुनुहुन्थ्यो कलाकार दीपकराज गिरी । यसबाहेक सबैसँग भेटघाट गर्ने र केही कार्यक्रम भएछन् भने त्यसमा सरिक हुने योजना रहेको गिरी बताउनुहुन्छ ।

होलीका क्रममा जथाभावी पानी फ्याँल्ने र रङ दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृतिमा अझै पनि कमी आएको छैन । होली भनेको सद्भावको पर्व हो । कसैको मन नभई नभई लोला हान्नु र रङ छयाप्नु होलीको अर्थ होइन । रमाइलो गरेर परिवारसँग होली खेलौँ । अन्यथा फोहोर पानीले लोला हान्ने काम नगरौँ । होलीकै दिन पनि असभ्य तरिकाले होली खेल्दा कत्तिको ज्यान गएको छ, तसर्थ होली पर्वलाई सभ्य पर्वका रूपमा मनाऊँ ।