गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १३ गते । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ । बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।
बोर्डका अनुसार चालु आवको साउनदेखि फागुनसम्म वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका ६०१ जना र १२५ जना विभिन्न खाले बिरामीको उद्धार गरेको छ । यस्तै सो अवधिमा विभिन्न देशमा मृत्यु भएका ६८५ श्रमिकका शव व्यवस्थापनको काम गरेको बोर्डले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डले श्रम स्वीकृति लिई सो अवधिभित्र स्वदेश वा विदेशमा मृत्यु भएको अवस्थामा मृतकका नजिकका हकवालालाई १० लाख रुपियाँ आर्थिक सहायता दिने गरेको छ । गत आवदेखि मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता सात लाखबाट बढाएर १० लाख रुपियाँ बनाएपछि बोर्डलाई आर्थिक भार बढेको छ ।
स्वदेशमा कडा स्वास्थ्य परीक्षण गरेर गएका युवाको मृत्यु सङ्ख्या प्रतिवर्ष बढ्दै गएको देखिन्छ । बोर्डका अनुसार आव २०७१/७२ देखि आव २०८१/८२ सम्म अर्थात् १२ वर्षको अवधिमा १२ हजार नेपाली युवाले ज्यान गुमाए । विगत पाँच वर्षमा मात्र छ हजार ७५ युवाले रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।
गत आवमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएका थिए । यो सङ्ख्या मृत्युको तथ्याङ्क राख्न सुरु गरेपछि सबैभन्दा बढी हो । यसै गरी गत आवमा ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ । औद्योगिक दुर्घटना, आत्महत्या, कार्डियाक एरेस्ट, सडक दुर्घटना आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेका विवरण धेरै आउने गरे पनि यो के कारणले हुन्छ भन्ने अध्ययन भएको छैन ।
श्रम स्वीकृति लिएर स्वास्थ्य परीक्षण गरेर गएका नेपालीको मृत्यु हृदयाघात, सडक दुर्घटना, औद्योगिक दुर्घटना तथा आत्महत्यालगायतका कारणले बढी हुने गरेको देखिए पनि यसको कारण भने खोजिएको छैन । यसरी मृत्यु हुनेमध्ये मृत्युको कारण पत्ता नलाग्नेको सङ्ख्या पनि धेरै रहेको छ ।