गोविन्द शर्मा
बाँके, वैशाख २१ गते । बाँकेको खजुरामा निर्माणाधिन सडक फराकिलो हुनुपर्ने माग गर्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जमा माग गरिएको छ ।
करिब ९ बर्षअघि निर्माण सुरु भई अलपत्र परेको सडक पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट सुरु गरिएको हो । खजुरा बजारस्थित एकहजार ८०० मिटर चारलेन सडक पुरानै मापदण्ड अनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले सोमबार हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्ज पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय बासिन्दा समेत रहनुभएका अग्रज पत्रकार शरण कर्माचार्यले साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेपछि सडक बिस्तारका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।
कर्माचार्यले भन्नुभयो, ‘‘अहिले सडक निर्माण हुन लागेको अवस्थामा केही फराकिलो बनाउन सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराएका छौं ।’ ’
उहाँका अनुसार सडकको दुबैतर्फ १ मिटर थप गरि सडकको चौडाई ९ मिटर कायम गर्न र पदमार्गलाई नाली भन्दा पछि निर्माण कार्य अघि बढाउन मुख्य माग राखिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले नयाँ निर्माणाधिन सडकमा स्थानीयको माग अनुसार सडक बिस्तारका लागि सकारात्मक रहेको भन्दै स्वीकृतिका लागि निर्देशनालयमा पठाइने जानकारी दिनुभयो ।
यसअघि निर्माण भएको संरचनाको विषयमा अदालतमा मुद्दा बिचाराधिन रहेकाले काम अघि बढाउन प्राविधिक कठिनाई रहेको उहाँको भनाई छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ साल चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि ईलामसँग बाँकेको खजुरा बजारमा एकहजार ८०० मिटर र बर्दियाको गुलरीयामा दुई हजार २०० मिटर लम्बाईको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको हो ।
सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । तर पटक–पटक म्याद थप गर्दा समेत काम सम्पन्न भएन । सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण ब्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको माग अनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाएको हो ।