• २१ वैशाख २०८३, सोमबार

जनचासोका विषय केन्द्रित भएर छलफल गर्न कानुनमन्त्री गौतमको आग्रह

blog

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ।

काठमाडौँ, वैशाख २१ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गर्नुभएको छ ।

 सोमबार सिंहदरबारमा बसेको सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट्याउनुभएको हो ।

मन्त्री गौतमले सांसदले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताउनुभयो । सरकार सांसदले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाइ थियो ।

उहाँले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरूले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “मैले जवाफ दिने सवालमा चाहिँ अबदेखि हामी एजेन्डा केन्द्रित भएर परपर्ली आयौँ भने, तयारीका साथ आउँदाखेरी सरकारले पनि यसमा के हो भनेर सरकारले पनि पोजिसन तयार गरेर तपाईंको प्रश्नको जवाफ सरकारले स्पष्टसँग लिएर आउन सक्छ । त्यसकारण मैले एजेन्डा केन्द्रित भएर छलफल गर्न माननीय सदस्यज्युलाई आग्रह गरेँ । अर्को समय व्यवस्थापनमा काम गर्न सकिएन भने जस्तो संसद्को बैठकलाई नै हेरौँ । संसद्‌मा हरेक माननीय सदस्यलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ । तर समिति चाहिँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौँ । यसको मर्म के हो भने समितिमा विषयवस्तु राख्दाखेरी साह्रै समयको पाबन्दी नहोस् भन्ने हो । तर यहाँ पनि अनुशासनको सीमा भित्र रहेनौं र भनेको भनेकै गयौ भने बैठक त हामीले जति पनि लम्ब्याउन सक्छौ नि । विषयवस्तु एजेन्डाभित्र राख्दै गर्दा अरूले राखेको भन्दै छुट्टै खालको एजेन्डामा छलफल गर्दा बैठकलाई हामीले प्रभावकारी बनाउन सक्छौं भन्ने मलाई लाग्छ । सरकार तपाईँले उठाउनुभएको हरेक विषयमा संवेदनशील छ । तर यहाँ उठान भएका विषयवस्तु एउटा फ्रेममा बसेर उठान गरियो भने यसलाई प्रभावकारी बनाउन सक्छौं । हाम्रो उद्देश्य भनेको जनताका चासोका विषयलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्नु हो । संसद्को नियममा रहेर काम गरौँ, जसले गर्दा यसको कामलाई प्रभावकारी बनाउन सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।”

मन्त्री गौतमले संसद् र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदले समय सीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताउनुभयो ।