• २१ वैशाख २०८३, सोमबार

मनाङ आउने पर्यटक घटे, होटल बुकिङ कमजोर

blog

मनाङ यात्रामा रहेका पर्यटकहरू ।

यदुप्रसाद भट्ट

मनाङ, वैशाख २१ गते । यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भइरहेका युद्धका कारण पर्यटक आगमनमा कमि आएको हुनसक्ने सरोकारवालाको बुझाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पर्यटकीय सिजन सुरु भए पनि अपेक्षा अनुसार पर्यटक भित्रिन सकेका छैनन् । “गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन घटेको छ” उहाँले भन्नुभयो, “विश्वका विभिन्न स्थानमा देखिएको युद्ध र त्यसबाट सिर्जित त्रासका कारण धेरै पर्यटकले यात्रा योजना स्थगित गरेका छन् ।”

यद्यपि, चालु वर्षको अप्रिल महिनामा मनाङमा पर्यटक आगमन सन्तोषजनक देखिएको छ । सन् २०२६ को अप्रिल महिनामा कुल ७ हजार ७६२ पर्यटक मनाङ भित्रिएका छन् । तीमध्ये सार्क मुलुकबाट ८८४ र अन्य विदेशी मुलुकबाट ६ हजार ८७८ पर्यटक आएका छन् । यस अवधिमा ८५ देशका पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

लिङ्गगत आधारमा हेर्दा ४ हजार ५३० पुरुष, ३ हजार २३० महिला तथा अन्य दुई जना पर्यटक मनाङ पुगेका तथ्याङ्कमा उल्लेख छ । कुल सङ्ख्या ७ हजार ७६२ पुगेको छ ।

मनाङ क्षेत्र अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीय अर्थतन्त्र चलायमान बनाउने गर्दछ । होटल व्यवसायी, पर्यटन गाइड तथा यातायात क्षेत्रमा संलग्न व्यक्तिहरू पर्यटक घट्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

स्थानीय व्यवसायीका अनुसार यस वर्ष बुकिङ अपेक्षाभन्दा कम भएको छ । कतिपय होटलहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेका छन् भने केहीले खर्च धान्न कठिन भएको बताएका छन् । पर्यटनमा निर्भर स्थानीयले वैकल्पिक आम्दानीको स्रोत खोज्नुपर्ने अवस्था आएको छ ।

पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउन अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ । साथै, पूर्वाधार विकास, सेवा सुविधा विस्तार र गुणस्तरीय आतिथ्यतामा सुधार गर्न सके आगामी दिनमा पर्यटक आगमन बढ्न सक्ने अपेक्षा गरिएको छ ।