• २१ वैशाख २०८३, सोमबार

इलाका प्रशासन कार्यालय स्थापना ठुलो सफलता : प्रदेश प्रमुख मियाँ

blog

इलाका प्रशासन कार्यालयको ब्यानर खोलेर उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख । तस्बिर सौजन्य : गोविन्दसिंह धामी

कृष्णबहादुर धामी

दार्चुला, वैशाख २१ गते । जनताका आवश्यकताका कार्यालय सेवाग्राहीलाई नजिकैबाट सेवा प्रदान गर्ने गरी स्थापना हुनु ठुलो सफलता भएको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताउनुभएको छ । 

दार्चुलाको गोकुलेश्वर स्थित इलाका प्रशासन कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा बोल्दै हुँदै उहाँले सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै विकटमा इलाका प्रशासन कार्यालय स्थापना हुनु ठुलो सफलता भएको बताउनुभएको हो । 

इलाका प्रशासनसँगै जनताका आवश्यकताका कार्यालयहरू मालपोत र नापी कार्यालयहरू पनि स्थापना हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै उहाँले सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश निकै सम्भवना बोकेको प्रदेश भएको पनि बताउनुभएको छ । यहाँका जस्ता पर्यटकीय स्थलहरू, वन जङ्गल र काठहरू अन्य प्रदेशमा नभएको बताउनुभयो । 

प्रदेश प्रमुख मियाँले आज एक कार्यक्रमका बिच इलाका प्रशासन कार्यालय गोकुलेश्वरको उद्घाटन गर्नुभएको छ । शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा कार्यालय स्थापना गर्न जिल्ला सुरक्षा समितिले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले इलाका प्रशासन कार्यालयको स्वीकृत दिएपछि कार्यालय स्थापना गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । 

साथै उहाँले जिल्ला प्रशासनसँगको समन्वयमा इलाका प्रशासन कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रदान गरिने बताउनुभयो । दरबन्दी अनुसारका कर्मचारी नभएपनि तत्काललाई जिल्ला प्रशासन कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई खटाएर सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका अन्तर्गतको कृषि तथा पशु भवनलाई प्रयोगमा ल्याइ इलाका प्रशासन कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । यहाँको भौगोलिक विकटतालाई मध्यनजर गर्दै स्थानीय नागरिकलाई पायक पर्ने स्थानबाट सेवा दिने उद्देश्यले सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेको प्रजिअ पौडेलले बताउनुभयो । 

सरकारले सदरमुकाम पुगेर मात्रै नागरिकता लगायतका अन्य प्रमाणपत्र लिन नागरिकले भोग्नु पर्ने सास्ती कम गर्न सदरमुकाम खलङ्गाबाट ७२ किलोमिटर दुरीमा रहेको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरेको हो । 

ग्रामीण भेगका नागरिकलाई प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको शैल्यशिखर नगरपालिका–६ का वडाध्यक्ष जगदीश धामीले बताउनुभयो । 

घर नजिकैबाट नागरिकता लगायत प्रशासनिक सेवा प्राप्त हुने भएपछि स्थानीय नागरिक खुसी भएको शैल्यशिखर नगरपालिका–८, पपरथलाका धरमानन्द जोशीले बताउनुभयो ।

जिल्लाको शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिकाको वडा नम्बर ६ र लेकम गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का नागरिकलाई सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

इलाका प्रशासन कार्यालय मार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म पुर्‍याउन सहज हुने उहाँले बताउनुभयो ।