गुणबहादुर रोका
सुलीकोट, वैशाख २१ गते । गोरखा र लमजुङ जोड्ने महत्त्वपूर्ण पन्थडिहि–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
कुल २० किलोमिटर लम्बाइको यस सडक खण्डमध्ये हालसम्म करिब १७ किलोमिटर भागमा कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी खण्डमा बेस राख्ने काम तीव्र गतिमा भइरहेको गोरखा सडक योजना कार्यालय गोरखाले जनाएको छ ।
सडक कालोपत्रेका लागि २०७९ सालमा उडहिल–लामा जेभीसँग ठेक्का सम्भौता गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेपछि निर्माण कार्य अघि बढी हालसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति हासिल भएको गोरखा सडक योजनाका कार्यालय गोरखाका सूचना अधिकारी आशिष रिजालले बताउनुभयो ।
सुरुमा गत भदौमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, सूचना अधिकारी रिजालले भन्नुभयो, ‘निर्धारित समयममै काम नसकिएपछि २०८३ असार ७ गतेसम्म म्याद थप गरिएको छ ।’
कालोपत्रे सडक सम्पन्न गर्नका लागि कुल लागत करिब १ अर्ब ५ करोड ४७ लाख रुपियाँ रहेको छ । सडक चौडाइ बिस्तारसँगै नाला तथा टेवा पर्खाल निर्माणको काम पनि सम्पन्न हुँदै गएको छ । सडकमा डिबिएसटी प्राविधिबाट कालोपत्रे गरिएको छ भने यो परियोजना भारत सरकारको एक्जिम बैँकको ऋण सहयोगमा सञ्चालन भएको सडक योजना कार्यालयले जनाएको छ ।
उक्त सडक सञ्चालनमा आएपछि गोरखा र लमजुङ पाँच स्थानीय तहका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने सिरानचोक गाउँपालिका हर्मीका युवा धनबहादुर तामाङको भनाइ छ । लाभान्वित हुने पालिकाहरूमा गोरखाको पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकासहित लमजुङको राइनास नगरपालिका, र दुधपोखरी गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहजता आउने छ ।
२०६५ सालमा ट्रयाक खोलिएको यस सडक स्तरोन्नतिको प्रयास विगतमा पटक–पटक असफल भए तापनि गोरखा र लमजुङका स्थानीय, जनप्रतिनिधी र सरोकारवाला सबैको अथक प्रयासमा अहिले कालोपत्रे हुन सफल भएको छ ।
हाल निर्माण कार्यले गति लिएसँगै चाँडै पूर्णरूपमा सम्पन्न हुने भएपछि वर्षभरि सवारी साधन सञ्चालनमा सहज भई दुबै जिल्लाका स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।