विजयकुमार साह
ढल्केबर, वैशाख २१ गते । चुरे तथा वनजङ्गल सङरक्षण अभियान नेपालले आगामी जेठ १ गतेदेखि मेचीमहाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा सुरु गर्ने घोषणा गरेको छ ।
चुरे र प्राकृतिक स्रोतको रक्षाका लागि निरन्तर सङघर्ष गर्दै आएको यस अभियानले चुरे क्षेत्रको विनाश रोक्न र राज्यलाई दबाब दिन देशव्यापी अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।
अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले गर्दा तराई मधेशको भूमि मरुभूमीकरण हुने खतरा बढेकाले यो कदम चालिएको बताउनुभयो ।
अभियानको मुख्य माग र एजेन्डा चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टीबालुवा उत्खनन र क्रसर उद्योगको नियन्त्रण । अतिक्रमित नदीनालाको सङ्रक्षण । प्रदुषण नियन्त्रण, वनजङगलको फँडानी र जडीबुटीको अवैध दोहनमा रोक लगाउनु रहेको उहाँको भनाइ छ ।
अध्यक्ष यादवले ‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ भन्ने मूल नाराका साथ सुरु हुने यस यात्राले तराई, पहाड र हिमालबीचको वातावरणीय सन्तुलन कायम राख्न राष्ट्रिय एकताको आह्वान गर्नुभयो ।
उहाँले यस पदयात्रामा सहभागी हुन तराई मधेशका युवा, विद्यार्थी, जेन्जी पुस्ता, राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मीलाई अपील गर्नुभयो ।
यसअघि पनि यस अभियानले सप्तरीदेखि काठमाडौँसम्म पैदल यात्रा र माइतीघर मण्डलामा महिनौँसम्म धर्ना दिने जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।